काठमाडौँ, १० पुस । सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको जेष्ठताको बरियता सार्वजनिक गरेको छ । कर्मचारी समायोजनको प्रक्रियामा रहेको मन्त्रालयले प्रशासन समुहतर्फका सह-सचिवहरुको बरियताक्रम सार्वजनिक गरेको हो ।
सार्वजनिक बरियता क्रममा भ्रष्टाचारको आरोप लागेका सह-सचिव चूडामणि शर्माको नाम पहिलो नम्बरमा रहेको छ । उनी २०७४ सालको भ्रष्टाचारको आरोपित मध्य सबैभन्दा ठुलो माछा हुन् ।
कर्मचारी समायोजनका लागि जेष्ठतालाई पहिलो आधार बनाइएकाले मन्त्रालयले जेष्ठताको सूचि सार्वजनिक गरेको हो । शर्माले कर फर्छ्योट आयोगमार्फत भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा समेत दायर भएको छ ।
आन्तरिक विभागको महानिर्देशक हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका शर्मा ६१ दिन हिरासतमा बसेका थिए । अख्तियारले कर छुट प्रकरणमा शर्माविरुद्ध ३ अर्ब बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उनीविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा पनि अख्तियारले विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ ।
तत्कालिन कर फर्छ्यौट आयोगको सदस्यसचिव रहेका शर्मामाथि भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले छानबिन गरेका शर्मा अतिरिक्त समूहमा छन् ।
शर्मापछि दोस्रो नम्बरमा रामप्रसाद थपलिया, तेस्रो नम्बरमा वीरेन्द्रकुमार यादव, चौथो नम्बरमा दीपक सुवेदी र पाँचौं नम्बरमा चन्द्रमान श्रेष्ठ छन् । २२५ औं नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत जुम्लाका गोगनबहादुर हमाल छन् ।
सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार जेष्ठतालाई मानेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले सुरुमा सहसचिवस्तरका कर्मचारीहरुको सूची सार्वजनिक गरिएको र अन्य पदका कर्मचारीहरुको पनि क्रमशः सूची सार्वजनिक गर्दै जाने बताए ।
हेर्नुस् लिस्ट :