रामेछाप, मंसिर २५ गते ।
दोस्रो विर गणेशमान सिंह स्मृति कप २०७५ जिल्ला स्तरीय भलिबल प्रतियोगिता रामेछापको सदरमुकाम मन्थलीमा आजदेखी सुरु भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापले आयोजना गरेको खेलको उद्घाटन पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंह र पूर्व खेलकुदमन्त्री बल बहादुर केसीले गर्नुभएको थियो ।
सदरमुकाम मन्थलीमा रहेको जिल्ला समन्वय समितिको खेल मैदानमा भएको खेलमा जिल्ला भरीका १२ टिमले भाग लिएका छन् । लिगकम नकआउटको आधारमा अपरान्न ४ः३० बजे सुरु भएको आजको पहिलो खेल रामेछाप नगरपालिका र मन्थली माध्यामिक विद्यायालयले खेलेका थिए । जसमा रामेछाप नगरपालिका २५—१६ र २५—१५ ले विजय भएको छ । भोली बिहान ७ हुने दोस्रो खेलमा साँस्कृतिक समाज र मन्थली डिप्लोमा ले खेल्ने छन् ।
प्रतियोगितामा पहिलो हुने टिमल १ लाख ११ हजार , दोस्रो हुनेले ५५ हजार ५ सय , तेस्रो हुनेले ३३ हजार ३ सय ३३ र सान्त्वना हुनेले टिमले ११ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । खेल आगामी २९ गतेसम्म चल्नेछ ।
