हाम्रै नेपालमा: छोरी भगाएको शंकामा केटाको बहिनी माथि बलात्कार ?? सांसदले पनि कुटाइ खाए
सर्लाहीमा सार्वजनिक बलात्कारविरुद्ध बोल्ने सांसद कुटिएका छन् । कविलासी नगरपालिका–६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा नै एक युवतीलाई बलात्कार गर्नुपर्ने आवाज उठेपछि राष्ट्रियसभा सदस्य रामप्रित पासवानले त्यसको विरोध गर्दा कुटिएका हुन् ।मदनपुरको रामप्रसाद रायकी ११ मा पढ्दै आएकी छोरी पुनितकुमारी गत कात्तिक २८ गते घरबाट भागेकी थिइन् । तर पनि भगाउने केटाको पहिचान खुल्न नसकेपछि स्थानीयहरुले समेत सोही गाउँका सन्तोष रायमाथि केटी भगाएको आरोप लगाएका थिए ।
स्थानीयको आग्रहमा विवाद सुल्झाउन सांसद पासवानलाई पनि बोलाइएको थियो । सन्तोषले केटी भगाएको कुनै प्रमाण सो पञ्चायतीमा पेश भएको थिएन । स्कुलमा सँगै पढेको र राम्रो सम्वन्ध भएकाले शंकाको भरमा सोधपुछ गरिएको थियो । सन्तोषले आरोप स्वीकार गरेनन् ।
पञ्चायतीले ‘यदि केटी भगाएको रहेछ वा कहाँ छ भन्ने थाहा भए दुई दिनभित्र उपस्थित गराउनुपर्ने’ निर्णय सुनायो । तर, केटी पक्षका फेकन रायले सो निर्णय नमान्ने बताए । उनले यदि दुई दिनभित्र पुनितलाई उपस्थित नगराए सन्तोषकी अविवाहित बहिनीलाई सार्वजनिक रुपमा बलात्कार गर्नुपर्ने माग राखे ।
‘मैले तत्काल त्यसको विरोध गरेँ । यस्तो अपराधिक सामाजिक कुरा नगरौं भन्दा अरु एक दुई जना बोले’ सांसद पासवान भन्छन्, ‘पञ्चायतमा भएका अरु उल्टै ममाथि जाइलागे ।’
बलात्कार गर्नुपर्ने मागको विरोध गर्दा आफूमाथि गालीगलौज गर्दै कुटपिट भएको उनको गुनासो छ । घटनामा सन्तोषको कुनै भूमिका नभए पनि दलित भएकै कारण उनीमाथि आरोप लगाइएको र आफूमाथि पनि दलित भएकै कारण कुटपिट भएको उनले बताए ।
उनले सार्वजनिक बलात्कारको विषय डरलाग्दो भएकाे भन्दै महिला अधिकारकर्मीहरुसँग गुहार मागेका छन् । सांकेतिक तस्बिर
आफ्नै गाउँमा कुटिएका राष्ट्रिय सभा सदस्य, ‘गाउँलेले नजोगाएको भए मेरो ज्यानै लिन्थे’
सुनील ठाकुर
मलंगवा। राष्ट्रिय सभा सदस्य रामपृत पासवानमाथि कुटपिट भएको छ। शुक्रबार आफ्नै गाउँमा पंचायत भइरहेको समयमा केही गाउँलेले पासवानलाई कुटेका हुन्। कुटपिटबाट पासवानको टाउको र अनुहारमा चोट लागेको छ।
कविलासी नगरपालिका–६ मदनपुरमा गाउँमा पंचायत भइरहेको समयमा केही व्यक्तिले आफूमाथि आक्रमण गरेको सदस्य पासवानले बताए।
‘मलंगवा आउँदै गरेको समयमा पंचायत भइरहेको थियो। गाउँलेले छलफलमा एकछिन बस्न आग्रह गरे’, उनले भने। छलफलकै क्रममा स्थानीय वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश राय लगायत ७ जनाले एक्कासी कुटपिट गरेको पासवानले बताए।
छलफलमा आफूले बोल्ने बित्तिकै उनीहरुले मुक्का र हेलमेटले पिट्न थालेको पासवानको भनाइ छ। ‘गाउँलेले मलाई नभगाएको भए ज्यानै लिन्थे’, पासवानले भने, ‘आज यसलाई सिध्याउनु पर्छ भनेर आक्रमण गरेका थिए, गाउँलेहरुले मलाई जोगाए।’
हेलमेटको प्रहारबाट टाउकोमा चोट लागेको छ। जिल्ला अस्पतालमा उपचार गराएर उनी अहिले घर फर्किएका छन्।
कुटपिटबाट घाइते भएका पासवानले प्रहरीमा जानकारी गराए लगतै घटनास्थल पुगेका प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामप्रसाद राय रहेको प्रहरीले जनाएको छ।
अहिलेसम्म लिखित जाहेरी नआएको प्रहरीले जनाएको छ। मौखिक जानकारी हुने बित्तिकै घटनास्थलमा पुगेर रामप्रसाद रायलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।
नयाँ नियममा जाहेरी दिनका लागि आमाको नाम पनि चाहिने भएकाले शनिबार आमाको नामसहितको जाहेरी दिने सदस्य पासवानले बताएका छन्। पासवान संघिय समाजवादी फोरम नेपालबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्। अन्नपूर्णबाट