पोखरा प्रिमियर लिगः फाइनलमा पोखरा पल्टनसँग चितवन राइनोज खेल्ने

  • प्रकाशित मिति: आइतबार, कार्तिक १८ २०७५
  • तामाकोसी खबर

पोखरा, कार्तिक १८ गते। पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–ट्वान्टी क्रिकेटको फाइलनमा पोखरा पल्टनसँग चितवन राइनोज खेल्ने भएको छ ।आज भएको प्लेअफ खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै पारस खड्काको कप्तानीमा रहेको चितवन फाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य पच्छाएको चितवनले १८।२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । चितवनका लागि स्मीथ पटेलले ३८ रन बनाए भने हरिशंकर शाहले २६ रन बनाए ।



यसअघि टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९ ओभर ३ बलमा ९४ रनमा समेटिएको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३० रन जोडे भने जय किशन काल्शावालाले २५ रन जोडे । काठमाडौंका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्न चितवनका लागि सन्नी पटेलले ३ विकेट लिए । यस्तै स्मित पटेल र भुवन कार्कीले २र२ विकेट लिए । चितवनले अब फाइनलमा मंगलबार घरेलु टोली पोखरा पल्टनसँग खेल्नेछ ।