निर्मला हत्या प्रकरण ; चार युवकको डिएनए परीक्षण गरिँदै…

  • प्रकाशित मिति: बिहिबार, कार्तिक १५ २०७५
  • तामाकोसी खबर

महेन्द्रनगर, १५ कात्तिक । निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा थप युवकको डिएनए परीक्षण गर्न लागिएको छ । त्यसका लागि कञ्चनपुर प्रहरीले डिएनए संकलन गरेर काठमाडौं पठाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको १० साउनमा बलात्कारपछि हत्या गरिएको थियो । सो घटनामा अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन् ।



प्रमाण मेटाएको भन्दै सरकारले कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज बिष्ट र महेन्द्रनगर वडा प्रहरी कार्यालयका इन्स्पेक्टर हेमराज भट्टराई हटाइसकेको छ । त्यस्तै, केही प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको छ ।

तर, अहिलेसम्म दोषी पत्ता लाग्न नसकेपछि प्रहरीले शंकास्पद व्यक्तिहरुको डिएनए परीक्षण गर्न लागेको हो । शंकास्पद चार युवकको रगतको नमूना दुई दिन अघि परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउए । महाकाली अञ्चल अस्पतालमा उनीहरुको रगतको नमूना सङ्कलन गरिएको थियो ।

अनुसन्धानका क्रममा शङ्कास्पद देखिएका व्यक्तिको डिएनए परीक्षणका लागि रगतको नमूना सङ्कलन गरी पठाएको डीएसपी ओझाले बताए । ‘नमूना सङ्कलन गरिएका व्यक्तिको पहिचान खोल्न अहिले मिल्दैन,’ उनले भने ।

अन्य केही शंकास्पद देखिएका व्यक्तिको समेत डिएनए परीक्षणका लागि नमूना लिन सकिने उनले बताए ।

यस अघि तत्कालिन एसपी बिष्टसहित पाँच जनाको डिएनए परीक्षण गरिएको थियो । तर, कसैको मिलेको थिएन् ।