काठमाडौँ, १४ कात्तिक । अनधिकृत रुपमा प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन् ।
मेलम्ची खानेपानी विकास समितिका नाममा रहेका गाडीहरु अन्यत्र प्रयोग भईरहेको भन्ने विषयमा विभिन्न संचार माध्यमबाट समाचार सार्वजनिक भएपछि मन्त्री मगरले बाहिर प्रयोग भईरहेको गाडी फिर्ता ल्याउन समितिलाई निर्देशन दिएकी हुन् ।
खानेपानी विकास समितिका अनुसार मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीहरु मध्ये मेलम्ची र खानेपानी मन्त्रालय बाहेक अन्यत्र ६ वटा गाडीहरु प्रयोग भएका छन् ।
बा ८ च ६७६० नं.को टोयोटा ल्याण्डक्रुजर जीप सहरी विकास मन्त्रालयमा रहेको छ । मन्त्रालयले उक्त गाडी २०६२ साल चैतदेखि प्रयोग गरिरहेको छ । अहिले टोयोटा ल्याण्डक्रुजर जीपमा हालै प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव दीपेन्द्रनाथ शर्मा चढ्ने गरेका छन् ।
त्यसै गरि प्रधानमन्त्री कार्यालयमा मेलम्चीका दुईवटा गाडी लगिएका थिए । जसमा एउटा गाडी प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लगिएको छ ।
बा १ झ ८७५९ नं.को टोयोटा प्राडो जीप प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था मन्त्रालय लगिएको हो । त्यस्तै बा. १ झ ८९९५ नम्बरको टोयोटा प्राडो जीप समेत प्रधानमन्त्री कार्यालयमा रहेको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले मेलम्ची आयोजनाको बा १ झ ८७६३ नं. को प्राडो जीप प्रयोग गरिरहेको छ । प्राधिकरणले २०७० साल जेठ देखि उक्त गाडी प्रयोग गरिरहेको छ ।
त्यस्तै सहरी विकास मन्त्रालयमा प्रयोग भईरहेको बा १ झ ७१९४ नं. को मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भईरहेको बा ४ च १५०३ नं. को मेलम्ची आयोजनाको गाडी प्रयोग भएको छ ।


