हत्या गरेको प्रमाण छताछुल्ल,पढ्नुहोस

  • प्रकाशित मिति: बिहिबार, कार्तिक ८ २०७५
  • तामाकोसी खबर

साउदी पत्रकार तथा अमेरिकी स्तम्भकार जमाल खसोगी बेपत्ता भएको तीन हप्तापछि साउदी पक्षबाट सुनियोजित र षड्यन्त्रपूर्वक हत्या भएको तथ्य बाहिर आएका छन् । गत २ अक्टोबरमा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा गएका खसोगी एकाएक बेपत्ता भएका थिए । साउदी राजपरिवारका कट्टर आलोचक मानिने खसोगी बेपत्ता भएसँगै साउदी राजकुमार मोहम्मद बिन सलमनको आदेशमा दूतावासभित्रै हत्या भएको आशंका गरिँदै आएको छ । आफ्नो देशका पत्रकार खसोगी बेपत्ता भएसँगै टर्कीले खसोगी हत्या आशंकाको प्रमाण जुटाइरहेको छ ।

साउदीको फेरिँदो बोली
१. साउदी दूतावासबाट खसोगी बेपत्ता भएलगत्तै साउदी राजपरिवारको आदेशमा दूतावासभित्रै खसोगीको हत्या भएको आशंका हुन थाल्यो । तर, गत १९ अक्टोबरसम्म पनि साउदीले खसोगी वाणिज्य दूतावासबाट सकुसल निस्किएको र उनी बेपत्ताबारे अनभिज्ञ भएको दाबी गर्दै आयो ।
२. खसोगी हत्याको अशंकाबीच २३ अक्टोबरमा साउदीमा तय गरिएको लगानी सम्मेलनमा भाग नलिने घोषणा अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायत देशले गरे । बढ्दो अन्तर्राष्ट्रिय आलोचना खेपिरहेको साउदीले २० अक्टोबरमा भने दूतावासभित्र झगडापछि खसोगी मारिएको स्वीकार ग-यो ।
३. गत २२ अक्टोबरमा साउदीका विदेशमन्त्री अदेल अल जुबियरले अमेरिकी मिडिया फक्स न्युजलाई अन्तर्वार्ता दिँदै पत्रकार जमाल खसोगीको हत्या भएको स्वीकार गरे । उनको हत्यामा धूर्त एजेन्टहरूको संलग्नता रहेको दाबी जुबियरले गरे । खसोगी हत्या भयंकर भूल भएको उनको भनाइ थियो । तर, साउदी राजकुमार मोहम्मद बिन सलमनको आदेशमा खसोगीको हत्या नभएको दाबी उनको थियो ।



खसोगीकै पोसाकमा ‘नक्कली खसोगी’को प्रयोग
नक्कली खसोगीको आडमा २ अक्टोबरमा खसोगी सकुसल निक्लिएका साउदीको दाबी झुटो प्रमाणित भएको छ । गत सोमबार सिएनएनले सार्वजनिक गरेको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास प्रवेशद्वारमा राखिएको सिटिटिभी फुटेजका अनुसार गत २ अक्टोबरमा खसोगी वाणिज्य दूतावास प्रवेश गरेको देखिन्छ । तर, सोही दिन दूतावासबाट खसोगी फर्किएको देखाउन दूतावासले नक्कली खसोगीको प्रयोग गरेको छ ।

अनुसन्धानमा खटिएका एक उच्च टर्किस अधिकारीका अनुसार दूतावासभित्रबाट वास्तविक खसोगीले लगाएको पोसाक, चस्मा र नक्कली दाह्रीमा साउदी एजेन्ट मुस्ताफा अल मदानी दूतावासको पछिल्लो द्वारबाट बाहिरिएका थिए । उक्त सिसिटिभी फुटेजको अनुसन्धानपछि टर्किस अधिकारीले नक्कली खसोगीको प्रयोग भएको खुलासा गरेका छन् । खसोगी हत्यामा टर्कीले शंका गरेका १५ जनामध्येका एकजना नक्कली खसोगी मुस्ताफा अल मदानी हुन् ।

यसरी भयो खसोगीको हत्या
घटानाक्रमलाई हेर्दा खसोगीको हत्या भएको प्रस्ट हुन्छ । साउदीबाट निर्वासित खसोगीले पूर्वपत्नीसँगको सम्बन्धविच्छेद प्रमाणित गर्न टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा सम्पर्क गरे । दूतावासले उनलाई २ अक्टोबरमा आउन भन्यो । २ अक्टोबरमा सम्बन्धविच्छेद प्रमाणित भएको कागजात लिएर ३ अक्टोबरमा खसोगी हेटिस सेन्जिजसँग बिहे गर्ने तयारीमा थिए ।

दूतावासले दिएको समयअनुसार तोकिएको दिन खसोगी साउदी वाणिज्य दूतावास छिरे । उनी दूतावास छिर्दै गरेको भिडियो फुटेजमा देख्न सकिन्छ । उनी भित्र छिरेपछि पूर्वनिर्धारित योजनाअनुसार खसोगीको हत्या भएको स्पष्ट बुझ्न सकिन्छ । नक्कली खसोगीले खसोगीले लगाएकै कपडा, चस्मा लगाएर बाहिरिएको अवस्था सिसिटिभी फुटेजमा प्रस्ट देखिएकाले खसोगीलाई यातना दिएर मारिएको बुझ्न सकिन्छ ।

नक्कली खसोगीले वास्तविक खसोगीले लगाएको कपडामा जस्ताको तस्तै हुनु, तर कपडामा रगत नलाग्नुले योजनाबद्ध रूपमा बलजफ्ती वा बेहोस बनाएर उनको कपडा खोलिएको छ । भोलिका दिनमा खसोगी बेपत्ता खबर बाहिरिँदा आफू जोगिन नियोजित रूपमा साउदीले नक्कली एजेन्ट बाहिरिएको देखाउने प्रयास गरेको छ । विशेष एजेन्टहरूको प्रयोग गरेर खसोगीको शरीर टुक्रा–टुक्रा पारी गाडिएको आशंका गरिँदै आएको छ ।

टुक्रा पारिएको खसोगीको शव भेटिएको स्काई न्युजको दाबी
खसोगी हत्या आशंकाबीच बेलायतको प्रसिद्ध टेलिभिजन स्काई न्युजले खसोगीको शरीर टुक्रा–टुक्रा अवस्थामा भेटिएको समाचार गत मंगलबार प्रसारण गरेको छ । खसोगी बेपत्ता प्रकरण अनुसन्धानमा खटिएका एकजना अधिकारी (नाम गोप्य)को भनाइलाई आधार बनाएर स्काई न्युजले प्रसारण गरेको एक सामग्रीअनुसार इस्तानबुलस्थित साउदी वाणिज्य दूत बस्ने निवासको बगैँचामा गाडिएको अवस्थामा खसोगीको शव भेटिएको छ ।

गत मंगलबार नै टर्कीका राष्ट्रपति रेसिप तइप इर्डगनले टर्कीको संसद्मा बोल्ने क्रममा साउदीले औपचारिक रूपमै खसोगीको हत्या भएको स्वीकार गरिसक्दा पनि किन शव नभेटिएको भन्दै आपत्ति जनाएका थिए । खसोगी हत्याको जवाफ साउदीले दिनुपर्ने माग उनको थियो । इर्डगनको यो अभिव्यक्ति आएको केही घन्टापछि नै खसोगीको शव भेटिएको दाबी स्काई न्युजको छ । यद्यपि, औपचारिक रूपमा अनुसन्धान टोलीले शव फेला परेकोबारे तथ्य सार्वजनिक गरेको छैन ।

खसोगी हत्या साउदीले नै गरेको हो :टर्किस राष्ट्रपति
मंगलबार टर्कीको संसद्लाई सम्बोधन गर्ने क्रममा टर्कीका राष्ट्रपति इर्डगनले खसोगीको हत्या साउदीले सुनियोजित रूपमा गरेको आरोप लगाएका छन् । खसोगीको राजनीतिक हत्या भएको यथेष्ट प्रमाणहरू, अडियो रेकर्डिङलगायत प्रमाण आफूहरूसँग भएको दाबी उनको छ । खसोगी हत्याको ‘नांगो वास्तविकता’ देखिँदा पनि साउदी मौन रहेको भन्दै हत्या कसको निर्देशनमा भएको हो भनी साउदीबाट आफूले जवाफ चाहेको कडा अभिव्यक्ति इर्डगनले दिएका छन् । टर्कीले अनुसन्धान प्रमाण सार्वजनिक गर्नुअघि इर्डगनले साउदीको जवाफ माग गरेका छन् । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इर्डगनको भनाइ असभ्य भएको प्रतिक्रिया दिएका छन् ।

साउदी राजा र युवराजद्वारा खसोगीको परिवारसँग भेटघाट
खसोगी हत्याको आरोप खेपिरहेका साउदी राजा सलमन र युवराज बिन सलमनले लगानी सम्मेलन सुरु हुनुअघि खसोगीका परिवारसँग भेट गरे । खसोगीका छोरा सलाहलगायत परिवारजनलाई साउदी दरबारमा बोलाएर भेटेका छन् । भेटका दौरान खसोगीको परिवारप्रति समवेदना प्रकट गर्दै घटनाबाट राजपरिवार दुःखी भएको बताएका छन् । खसोगीका छोरा सलाहलाई गत वर्षदेखि साउदीले यातायात प्रतिबन्ध लगाएको छ । साउदी राजकुमार सलमन र खसोगीका छोरा सलाहले हात मिलाएको तस्बिर यतिवेला भाइरल भइरहेको छ ।

ट्रम्प नरम, चिन्ता हतियार सम्बन्धको
अमेरिकासँग सम्बन्ध जोडिएको व्यक्तिमाथि छिसिक्क केही हुँदा पनि आक्रामक बन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खसोगीको हत्या भएको तथ्यहरू बाहिरिँदासम्म पनि मौन देखिन्छन् । खसोगी हत्यामा अन्य देश जोडिएको थियो भने मानवअधिकार उल्लंघनका तर्कदेखि अमेरिकी प्रतिबन्धको धम्की ट्रम्पबाट धेरै पहिले आइसक्थ्यो ।

यद्यपि, खसोगी बेपत्ता प्रकरणलाई लिएर अमेरिकी मिडिया, सिनेटर र कंग्रेस सदस्यहरूले साउदीमाथि हतियार प्रतिबन्ध लगाउनु पर्ने बहस गर्र्दै आएका छन् । तर, साउदीसँगको हतियार सम्झौताबाट अमेरिकीले रोजगारी पाउने भएकाले सम्बन्ध गुमाउन नचाहेको प्रतिक्रिया ट्रम्पले दिएका छन् । मंगलबार अमेरिकी दैनिक युएसए टुडेलाई प्रतिक्रिया दिने क्रममा साउदी राजकुमार सलमनसँग आफूले कुरा गरेको ट्रम्पले प्रतिक्रिया दिएका थिए । राजकुमारले खसोगी हत्याबारे आफ्नो कुनै संलग्नता नरहेको जानकारी दिएकाले हत्यामा साउदी राजा वा राजकुमारको हात नरहेको विश्वास ट्रम्पको छ ।

साउदीलाई हतियार नबेच्ने युरोपेली देशको घोषणा
ट्रम्पले साउदीमाथि काँध हाल्दै गर्दा खसोगी हत्याका कारण युरोपेली देशले साउदीलाई हतियार नबेच्ने घोषणा गरेका छन् । साउदीले अमेरिकाबाट ६० प्रतिशत र युरोपेली देशबाट बाँकी ४० प्रतिशत हतियार खरिद गर्दै आएको छ । युरोपियन युनियनले साउदीलाई हतियार नबेच्न आफ्ना सदस्यलाई भनेको छ ।

जर्मनीले साउदीलाई हतियार नबेच्ने घोषणा गरिसकेको छ । उत्तर अमेरिकी मुलुक क्यानडाले पनि साउदीसँगको प्रतिरक्षा सम्झौता रद्द गर्न सक्ने प्रतिक्रिया दिएको छ । यसैबीच, नेबेल शान्ति पुरस्कार विजेता यमनी पत्रकार तथा खसोगीकी मित्र तावाक्कोल कर्मनले खसोगीका हत्यारालाई कारबाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेकी छिन् । एजेन्सीको सहयोगमा