समृद्ध नेपाल सुखि नेपाली निर्माण गर्न बजेटको कमी हुदैन : कैलाश ढुंगेल

  • प्रकाशित मिति: शनिबार, असोज ६ २०७५
  • तामाकोसी खबर

रामेछाप । असोज ६ गते,
प्रदेश नं तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल सुखि नेपाली निर्माण गर्न अब बजेटको कुनै कमी नहुने बताएका छन् । बर्तमान स्थायी सरकारले दिगो विकासको लक्ष्य अनुसार काम गर्ने र त्यसको लागि प्रशस्त बजेटको ब्यवस्था गरेकाले कुरा काटेर बस्ने समय नभएको उनको भनाई छ । यो कुरा उनले शुक्रबार रामेछापको लिखु तामाकोसी गाउपालिका वडा नं. ४ नागीमा आयोजित आबास पुणर्निर्माण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बोलेका हुन् । देशको मुहार फेर्ने जिम्मा अहिलेको सरकारलाई भएकोले दुई तिहाइको यो सरकारले पनि काम नगरे अबको कुनै सरकारले नगर्ने उनले बताए । कृषिमा क्रान्ति अहिलेको आवश्यकता रहेकाले प्रदेश नम्बर तीनलाई कृषि पकेट क्षेत्र विस्तार गर्ने योजना सहित बजेट विनियोजन गर्दा कृषिलाई प्राथमिकता दिएको उनको भनाई छ ।
एक फरक प्रसंगमा लिखु ३ र ४ हाइड्रोपाबर छिट्टै सञ्चालनमा ल्याएर उज्यालो नेपाल अभियानमा सहभागि हुनु पर्नेमा उनले जोड दिए। विद्युतको प्रचुर सम्भावना रहेको नेपालले विद्युत उल्पादन गरेर युरोपलाई बेचेर धनी हुने दिन पनि आउने मन्त्री ढुङ्गेलको जिकिर थियो ।सामुदायिक विकास समाजद्धारा मेडयरसंगको साझेदारीमा रामेछापको लिखु तामाकोसी गाउपालिका वडा नं. ३ र ४ मा निर्माण गरिएको आवास भवन हस्तान्तरण गर्ने उक्त कार्यक्रमको विभिन्न व्यक्तिहरुले सम्बोधन गरेका थिए । यसैक्रममा प्रदेश नम्बर तीनका सांसद शान्ति प्रसाद पौडेल, जिल्ला समन्वय समिति रामेछापको प्रमुख प्रेमबहादुर खड्का, नेपाल कम्निष्ठ पार्टीका नेता आनन्द श्रेष्ठ, लिखु तामाकोसी गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का, मेडएरका कार्यक्रम संयोजक डेविट बलरोम,सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङ लगाएतले पनि आवास पुणर्निमाणको अहिलेको अबस्थाको बारेमा बोलेका थिए । सामुदायिक विकास समाजद्धारा मेडयरसंगको साझेदारीमा लिखु तामाकोसी गाउपालिकाभित्र एक हजार २६ वटा भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरेका छन् भने दुई सय चार वटा घरहरु निर्माणधिन अबस्थामा रहेका छन् ।