काठमाडौं । असोज ५ गते,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारी–साधनलाई तोकिएको कोटामात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ । निगमले नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनलाई शुक्रबार पत्राचार गर्दै तोकिएको कोटाअनुसारको इन्धन उपलब्ध गराउन अनुरोध गरेको हो । निगमकाअनुसार मोटरसाइकल र स्कुटरलाई एकपटकमा बढीमा पाँच लिटर पेट्रोल उपलब्ध हुनेछ ।
हलुका सवारी–साधन, कार र भ्यानलगायतलाई एकपटकमा बढीमा १५ लिटर पेट्रोल उपलब्ध गराइने निगमले जनाएको छ । निगमले डिजेलबाट सन्चालन हुने मध्यम तथा छोटो दूरीका सवारी–साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी–साधनलाई बढीमा १०० लिटरसम्म उपलब्ध गराउन आग्रह गरेको छ । एम्बुलेन्स, विद्यालयका बस तथा सरकारी सवारी–साधनलगायत अत्यावश्यक सवारी–साधनलाई उच्च प्राथमिकतामा राखी इन्धन बिक्री वितरण गर्न एसोसिएसनलाई अनुरोध गरिएको निगमका प्रवक्ता इन्जिनियर वीरेन्द्र गोइतले जानकारी दिए । ट्यांकर चालकले विभिन्न माग राखी इन्धन ढुवानी नगर्दा मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ । तीन दिनदेखि इन्धनको ढुवानी ठप्प छ । शुक्रबार पनि काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द छन् । इन्धन भर्नका लागि पेट्रोलपम्पमा लामो लाइन लागेको छ ।
अब मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर पेट्रोल
- प्रकाशित मिति: शुक्रबार, असोज ५ २०७५
- तामाकोसी खबर