कार्यवाहक प्रमुख आयुक्तका रूपमा काम गरिरहेका घिमिरेले अब राष्ट्रपतिबाट सपथ लिएपछि पदभार ग्रहण गर्नेछन्। यसअघि संसदीय सुनुवाइका क्रममा सांसदहरूले घिमिरेमाथि अख्तियारले गरिरहेका कामकारबाही र उनका आगामी योजनाबारे प्रश्न सोधेका थिए।
नेकपा सांसद योगेश भट्टराईले लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा उनले संस्थालाई होइन आफूलाई शक्ति केन्द्र बनाएको र मानिसलाई साष्टाङ्ग गर्नु पर्ने अवस्था कसरी आएको थियो? भनी प्रश्न गरेका थिए।
भट्टराईले साँच्चै भ्रष्टहरूलाई कारबाही गर्ने हिम्मत छ कि छैन भन्ने प्रश्न पनि राखेका थिए- धारा तोरीको तेल खानु भएको छ कि छैन? मुटु बलियो बनाउनुस्। कांग्रेस सांसद पुष्पा भुषालले अख्तियारले बेलाबेलामा दायराले नाघ्ने गरेको बताउँदै त्यसलाई रोक्न के गर्नुहुन्छ? भनेर सोधेकी थिइन्।
जवाफमा घिमिरेले अख्तियार व्यक्तिले भन्दा पनि पद्दति चलाउनु पर्छ भन्ने आफ्नो प्रतिवद्धता भएको बताए। बलियो मुटुको प्रश्नमा उनी हाँसेमात्र। घिमिरेले आफू कार्यवाहक प्रमुख भएदेखि नै १३ पाने भराउन छोडेको र अब पहिला अनुसन्धान गरेरमात्र १३ पाने भर्न लगाइने बताए।