काठमाडौं, भदौ १५ गते – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेकं) को चौथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै समापन भएको छ ।
राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गर्नुभएको हो ।
सम्मेलनका क्रममा बिमस्टेक देशबीच क्षेत्रीय सहयोग बढाउने शान्ति र समृद्धिको दिशामा मिलेर जानुपर्ने कुरामा सहमति भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।
साथै शिखर सम्मेलनमा ‘मल्टी डाइमेन्सल कनेक्टिभिटी’मा जोड दिइएको बताउँदै ज्ञवालीले यसका बारेमा थाइल्याण्डले ‘मास्टर प्लान’ बनाउँदै गरेको जानकारी दिनुभयो । थाइल्याण्डको प्रारम्भिक रिपोर्टपछि योजना अघि बढाइने पनि उहाँले पनि जानकारी दिनुभयो ।
सार्क बडापत्रजस्तै बिमस्टेक चार्टर बडापत्रको पनि तयारी गरिएको बताउँदै उहाँले बिमस्टेकको आफ्नै रिसर्च सेन्टर र विश्वविद्यालय बनाउन सकिन्छ भन्ने कुरामा पनि सहमत भएको बताउनुभयो ।
त्यस्तै मौसम परिवर्तनका कारण हिमाली देशहरु भुटान र नेपाल विभिन्न समस्याबाट गुज्रिरहेकाले योसँग जुझ्न साझा प्रयास अपनाउने कुरामा सहमति भएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले २०२२ मा बिमस्टेक टुरिजम कन्क्लेभ आयोजना गर्ने कुरामा सबै सदस्य राष्ट्र सहमत भएको पनि जानकारी दिनुभयो ।