मन्त्रीमण्डल हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी, गृहमन्त्री बादलको पद धरापमा

  • प्रकाशित मिति: मंगलबार, भाद्र १२ २०७५
  • तामाकोसी खबर

काठमाडौं । भदौ १२ गते,
प्रधानमन्त्री केपि शर्मा ओलीले सरकारमा ठूलो हेरफेर गर्ने भएका छन् । उनले वर्तमान मन्त्रीमण्डलमा फेरबदल गर्दा गृहमन्त्री बादलको पद धरापमा पर्ने भएको छ। प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डसंगको गरेको लामो बैठकले मन्त्रीहरुलाई अदलबदल गर्न बाटो खुलेको ओली निकट स्रोतले जनाएको छ । यसै क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई रक्षामन्त्रालयमा पठाएर गृहमन्त्रालयमा ईश्वर पोखरेललाई ल्याउने तयारीले मुर्त रुप लिएको बुझिएको छ । केही दिन यता कंचनपुरलगायत देशैभरि भइरहेका विकसत घटनाक्रमले सरकारको चौतर्फी आलोचना सुरु भएपछि ओली प्रचण्डले बालुवाटारमा झण्डै ३ घण्टा लामो अति गोप्य छलफल गरेका थिए ।कञ्चनपुरमा भड्किएको हिंसा नियन्त्रणमा गृहमन्त्री बादलले स्थितिलाई काबुमा राख्न नसकेको भन्दै ओलीले प्रचण्डसामू गुनासो राखेको स्रोतको दावी छ ।
प्रधानमन्त्री ओली बादलको काम कारवाहीमा पहिलेदेखि नै असन्तुष्ट रहेको जनाइएको छ । संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई एयरपोर्बाट फिर्ता ल्याएदेखि नै ओली क्रुद्ध बनेका थिए । पछिल्लो समय गृहमन्त्री बादलले फेरि युद्धमा बालसेनाको प्रयोग सम्बन्धी थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जान लागेका लेलिन विष्टलाई एयरपोर्टबाटै फर्काएपछि सरकारको आलोचना चुलिएको थियो । विपक्षी कांग्रेसलाई सडकदेखि सदनसम्म यस्ता कुरालाई मुद्धा बनाएर जनमत आफू तिर केन्द्रित गर्न बादलले सहज वातावरण सिर्जना गरिदिएको ओलीको बुझाई रहेको छ ।बादलले एकपछि अर्को अलोकप्रिय काम गरेको गुनासो प्रचण्डसामू पोखेका ओलीले बादललाई आउट गरेर पोखरेललाई इन गर्न लागेका हुन्।