यसियाडमा आज के-के भयो नेपाली टिमबाट सफल असफल..?

  • प्रकाशित मिति: सोमबार, भाद्र ४ २०७५
  • तामाकोसी खबर

जकार्ता, भदौ ४ गते । इन्डोनेसियाको जकार्तामा जारी एसियन गेम्समा नेपाली खेलाडीले पहिलो किर्तिमान बनाएको छ। निमा घर्ती मगरले नेपाली उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

सोमबार भएको प्रतिस्पर्धामा ९.१७ अंकका साथ निमाले कीर्तिमान बनाएकी छिन्। दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता निमाले हिजो नानक्वानमा निराशाजनक प्रदर्शन गरेकी थिइन् । तर आज भने उनले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी पनि १२ खेलाडी मध्ये एघारौँ स्थानमा रहिन् ।



यता पौडीमा सागकी पदक विजेता खेलाडी गौरीका सिंह हिट चरणबाट नै बाहिरीएकी छिन । महिला १०० मिटर फ्रिस्टालमा दोस्रो हिटमा रहेकी गौरीका छैटौं स्थानमा रहिन । उनले निर्धारीत दुरी १ मिनेट ८२ मिलिसेकेण्डमा पूरा गरिन् ।

यही विधा अन्तर्गत अर्की पौडीवाज टिसा शाक्य पनि हिट चरणबाट नै बाहिरीएकी छिन । चौथो हिटमा प्रतिस्पर्धा गरेकी उनी पुछारमा रहित । उनले दुरी एक मिनेट ३.९६ सेकेण्डमा पूरा गरिन् ।

एसियाडमा नेपालले आज पदकको आशा गरिएको प्याराग्लाईडिङमा प्रतिस्पर्धा गर्दैछ । पहिलो पटक एशियाडमा समावेश गरिएको खेल अन्तर्गत नेपालले चार वटा विधामा सहभागिता जनाउँदैछ । जसमा पुरुष व्यक्तिगत एक्युरेसी र पुरुष टिम एक्युरेसीमा प्रतिष्पर्धा गर्दैछ । पुरुष एकल तर्फ नेपालका दुई खेलाडी विजय गौतम र सुसिल गुरुङले प्रतिस्पर्धा गर्नेछन । यस्तै ५ खेलाडी सम्मिलित टिम इभेन्ट्समा नेपालबाट विमल अधिकारी, विजय गौतम, सुसिल गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन ।

यस्तै महिला तर्फ त्रिशा श्रेष्ठ र प्रतिभा भुजेलले खेल्दैछन । महिला तर्फ प्रतिभा, त्रिशा र सविता तामाङको टिमले टिम इभेन्ट्समा भाग लिदैछन । यस्तै ब्याडमिन्टन तर्फ नेपालले पुरुष टिम इभेन्टको क्वार्टर फाइनलमा चाइनिज ताइपेइको सामना गर्दैछ । यसअघिको खेलमा पाकिस्तानलाई हराएको नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजीत तामाङ र नवीन श्रेष्ठ छन् ।

सुटिङ अन्तर्गत पुरुष १० मिटर एयर राइफलको छनोट चरणमा नेपालका सुशे चौधरीले प्रतिष्पर्धा गर्दैछन् । छनोट चरणमा ४४ खेलाडी छन् । महिलाको १० मिटर एयर राइफलको छनोट चरणमा कल्पना परियार र सुश्मिता नेपालले पनि आफ्नो चुनौति प्रस्तुत गर्नेछन् । तेक्वान्दोको पुरुष ५८ केजी मुनि तौल समुहमा नेपालका सागर गुबाजु प्रिक्वार्टर फाइनलमा पुगेका छन् । पहिलो चरणमा उनले भुटानका तेन्जिन दोर्जीलाई हराए । उनले आजै क्वार्टर फाइनल प्रवेशका लागि भियतनामका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै महिला ५३ केजी मुनिमा नेपाली खेलाडी निमा गुरुङ लेवननकी लेटिटिया आउनसँग पराजित हुँदै बाहिरिइन् । यस्तै ६७ केजी मुनिको भिडन्तमा संगीता बस्याल फिलिपिन्सकी खेलाडीसँग पराजित भइन् ।