रामेछापमा नेकपाको एक सय ३५ सदस्यीय जिल्ला कमिटी बन्ने

  • प्रकाशित मिति: शुक्रबार, साउन २५ २०७५
  • तामाकोसी खबर

रामेछाप । साउन २५ गते,नवराज पथिक,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रामेछापमा एक सय ३५ सदस्सिय जिल्ला कमिटी बन्ने भएको छ । रामेछापका केन्द्रीय सदस्य,दुवै पार्टीका पूर्व जिल्ला इन्चार्ज, पूर्व जिल्ला अध्यक्षहरुबीच भएको छलफलले सो सहमति जुटाएको हो । नेकपाका केन्द्रीय सदस्य माधव ढुङ्गेलले जिल्ला कमिटीमा रहने सदस्यको संख्या र पालिकाको नेतृत्व कसले गर्ने भन्ने बिषयमा सहमति जुटेको जानकारी दिए । उनका अनुसार कमिटीमा पूर्व एमालेबाट ६९ र पूर्व माओवादीबाट ६६ जना सदस्य रहने छन् ।
केन्द्रीय सदस्यहरु देवशकंर पौडेल, श्यामकुमार श्रेष्ठ, कैलाश ढुंगेल, माधव ढुंगेल, कमल चौलागाई, युवराज चौलागाइ, पूर्व एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेल, माओवादी केन्द्रका पूर्व जिल्ला इन्चार्ज धावा लामा, पूर्व जिल्ला संयोजक मैनकुमार मोक्तानसहित बसेको बैठकले सख्या बाँडफाडमा सहमति जुटाएको हो । रामेछापका ८ वटा स्थानीय तहमा नेतृत्व गर्ने विषय पनि टुंगो लागेको छ । सहमति अनुसार मन्थली नगरपालीका, उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोसी र खाँडादेवी गाउँपालिकामा तत्कालिन एमालेले नेतृत्व गर्नेछ ।
त्यसैगरी रामेछाप नगरपालिका, सुनापति र दोरम्बा गाउँपालिकामा तत्कालिन माओवादी केन्द्रले नेतृत्व गर्नेछ । रामेछापको विभिन्न वडामा निर्वाचनको क्रममा जितेको पार्टीहरुले नै नेतृत्व गर्ने र कांग्रेसले जितको वडामा बराबरी नेतृत्व लिने गरी सहमति भएको छ । पूर्व एमालेले नेतृत्व र ५५ प्रतिशत सदस्य लिएको पालिकाहरुमा पूर्व माओवादी केन्द्रले सचिव र ४५ प्रतिशत सदस्य पाउने छ । पूर्व माओवादी केन्द्रले नेतृत्व र ५५ प्रतिशत सदस्य लिएको ठाउँमा एमालेले सचिव र ४५ प्रतिशत सदस्य पाउने पनि सहमति भएको छ ।