रामेछाप । साउन २४ गते,
रामेछाप जिल्लामा सम्भावित दुर्घटनालाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा कडाई गरिएको छ । जिल्लामा सवारी दुर्घटना हुन नदिन जिल्ला ट्राफिक कार्यालय रामेछाप संगै मन्थली नगरपालिका , मन्थली नगरपालिका वडा नम्बर एकको कार्यालय र तामाकोसी ढुवानी सेवा समिति पनि लागि परेका छन् । सवारी जोखिमतालाई मध्यनजर गरी नगरपालिका , वडा कार्यालयको सहयोगमा कारवाही र चेतनामूलक कार्यक्रमलाई तिव्रता दिएको जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख असई रामेश्वर पाण्डेले जानकारी दिए ।
उनले सवारी अनुमती पत्र र ब्लु बुक विना सवारी चलाउने र मापसे लगाएतका चेकजाँचमा पनि कडाई गरिएको बताए । बजार क्षेत्रमा कुनैपनि ढुवानी तथा सवारी साधन २० भन्दा बढि गतिमा संचालन गरे तत्काल कारवाही गर्ने उनको भनाई छ ।
जिल्लाको बजार क्षेत्रहरुमा ट्राफिक व्यवस्थापनमा कडाई गरे संगै ट्राफिक नियम विपरित संचालन भएका सवारी तथा ढुवानीका साधन कारवाही बाट ३ गुणाले राजश्व संकलनमा वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख पाण्डेले बताए । उनले अहिले यस्ता सवारी तथा ढुवानी साधन कारवाहीबाट दैनिक ५० हजार बढि राजश्व संकलन भैरहेको बताए ।
दैनिक ६ सय भन्दा बढि ढुवानी तथा सवारी साधन गुड्ने रामेछापमा ट्राफिक नियम सम्बन्धी चेतनामूलक अभियान संगै ट्राफिक व्यवस्थामा अझ कडाई गर्दै जाने उनको भनाई छ । ट्राफिक नियमलाई अटेर गर्ने जो कोहीलाई पनि छुट नहुने उनले चेतावनी दिए ।
अहिले मन्थली लगाएत जिल्लाको बजार क्षेत्रमा रहेका पुराना ट्राफिक नियम सम्बन्धी बोर्डहरु पविर्तन गरिएको छ भने बजार आसपासका सडकहरुमा पनि विभिन्न चेतनामूलक बोर्ड ट्राफिक चिन्हहरु राखिएको र मन्थली बजारको १८ स्थानमा अधिकतम गति २० र यात्रु ओराल्ने र चढाउने अधिकतम समय १० मिनेट लेखिएको बोर्डहरु राखिएको छ । जसका कारण अहिले ढुवानी तथा सवारी चालकहरुलाई समेत निकै सजिलो भएको तामाकोशी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्कीले बताए ।
उनले जिल्लाको बजार क्षेत्रमा गरिएको कडा ट्राफिक व्यवस्थापनले सम्भावित दुर्घटनालाई कम गरेको बताए । अहिले बजार क्षेत्रमा जुनसुकै सवारी तथा ढुवानीका साधनहरुको गति सिमित भएकाले चालकहरुलाई सहज भएको उनको भनाई छ । रामेछापमा आर्थिक बर्ष २०७४÷०७५ मा ट्राफिक नियम उलङघन गर्ने ९ हजार ७ सय ८६ सवारी तथा ढुवानीका साधन कारवाहीमा परेका थिए । ट्राफिक नियम विपरित संचालन भएका यी साधन कारवाहीबाट ७४ लाख १२ हजार ५ सय रुपैया राजश्व शंकलन भएको थियो ।
रामेछापमा ट्राफिक व्यवस्थापनमा कडाई , दैनिक ५० हजार बढि राजश्व संकलन
- प्रकाशित मिति: बिहिबार, साउन २४ २०७५
- तामाकोसी खबर