नेपाल नयाँ विकासको युगमा प्रवेश गरेको उर्जामन्त्री पुनको भनाई

  • प्रकाशित मिति: बुधबार, साउन १६ २०७५
  • तामाकोसी खबर

रामेछाप । साउन १६ गते,
नेपाल सरकारका उर्जा तथा जलस्रोतमन्त्री बर्षमान पुनले नेपाल नयाँ विकासको युगमा प्रवेश गरेको बताएका छन् । वर्तमान सरकार दिगो विकास लक्ष्यको अवधारणा पुरा गर्न लागि परेको उनको भनाई छ । रामेछाप सदरमुकाम मन्थलीमा बुधबार भएको छुट्टा छुट्दै दुई कार्यक्रममा मन्त्री पुनले सरकारले स्थायी र दिर्घकालिन योजनालाई चरणवद्ध रुपमा अगाडी बढाइरहेको बताए । दुई तिहाई भन्दा बढि जनमत प्राप्त वर्तमान सरकारले विगतको छोटो अवधीको सरकारको जस्तो तत्काल रहात पुर्याउने भन्दा पनि विकासको दशक घोषणा गर्दै काम गर्ने मन्त्री पुनको भनाई छ ।
उनले अबको १० बर्ष उर्जा र सिंचाईको दशक हुने बताए । १५ हजार मेगावाट विद्युत उत्पादन गरी ३ हजार मेगावाटमा सवै नेपालीहरुलाई सेयर दिने उनको भनाई छ । यस्तै जिल्ला समन्वय समिति रामेछापमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली नेत्तृत्वको टोली चिनको भ्रमण गर्दा चिनिया रेल काठमाडौं सम्म ल्याउने प्रसंग उठाउदा चिनिया नेत्तृत्वले नेता माओत्सेतुङले हीमाल पारीको नेपालमा रेलमार्ग पुर्याउने योजना राखेको हुदा यसलाई पुरा गर्ने प्रतिवद्धता भएको बताए । मन्त्री पुनले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न प्रशासनिक क्षेत्रबाट छिटो , छरितो र व्यवस्थित कार्य सम्पादन गर्न जिल्ला स्थित कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिए । मन्त्री पुन संगै पुर्व सभामुख ओनसरी घर्तीमगर , उर्जामन्त्रालयका सचिव , नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।