रामेछाप । असार २२ गते
प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आफुले प्रदेशमा समानुपातिक बजेट प्रस्तुत गरेको बताएका छन् । उनले खेताला र ज्यामिको पसिनाले भिजेको टोपी र चप्पल जुत्ता नलाई काम गर्ने किसानलाई हेरेर बजेट बनाएको बताए ।
रामेछापको सदरमुकाम मन्थलीमा आयोजित मन्थली नगरपालिकाको तेस्रो नगर सभालाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले निर्वाचिन जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुलाई सरकारको बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिए । उनले काम गर्न राज्यले जति पनि बजेट दिने बताउँदै त्यसको उचित सदुपयोग भने हुनुपर्ने बताए । उनले विगतमा जस्तो अब राजनीतिक दलका नेता वा जनप्रतिनिधिको मिलेमतोमा योजना बनाई आप्mना मान्छे वा आफै बसेर उपभोक्ता समिति बनाएर पैसाको दुरुपयोग गर्ने दिन गएको प्रष्ट पारे । मन्त्री ढुङ्गेलले भने,‘यदि उपभोक्ता समितिमा बस्ने हो भने निर्वाचित निकाय र राजनीतिक दलमा रहेका पदबाट राजिनामा दिनुस् , अनि उपभोक्ता समितिमा बस्नुस् ।’
ढुङ्गेलले अहिले नेपालमा दुईतिहाई बहुमतको कम्युनिष्ट सरकार भएको बताउँदै यो सरकार कसैलाई बाँधेर वा लखेटेर नआएको बताए । जनताले दिएको मतको आधारमा यो सरकार बनेको बताउँदै उनले सरकारले जनताले दिएको मतको आधारमा दुईतिहाई बहुमतले गर्ने सबै काम गर्ने बताए । उनले कम्युनिष्ट शासन अधिनायकवाद तर्फ उन्मुख हुनै नसक्ने बताउँदै फेरी पनि ५ वर्ष पछि निर्वाचन हुने बताए । तर काँग्रेसले अहिले गरिरहेको व्यवहारले कम्युनिष्टलाई तीनतिहाई बहुमतले जिताउने बातावरण बन्दै गएको उनले प्रष्ट पारे ।
उनले नेपालको इतिहासमा नै पहिलो पटक ३ नं प्रदेश सरकारले आप्mनो कुल खर्चको ६१ प्रतिशत रकम विकास बजेटमा खर्च गर्ने गरी बजेट ल्याएको प्रष्ट पारे । सरकारको चालु खर्च ३९ प्रतिशत मात्र रहेको उनले बताए । उनले रामेछापको विकासको लागि जिल्लाका महत्वका सडक तथा सित्खा, खाडाँदेवी, अग्लेश्वरी, सैलुङ् केवुलकार लगायतका योजनाको लागि बजेट छुट्याइएको उनले बताए ।
नगर सभामा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार वस्नेतले मन्थली नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरपालिकाले करिब ६५ करोड रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाले राजश्व परिचालन नीति, सार्वजनिक सेवा तथा क्षमता विकास निति, सामाजिक विकास नीति, विद्युतीकरण, बजार विस्तार,, पर्यटन पूर्वाधार, अनुगमन तथा मुल्याङ्कन, आर्थिक विकास, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, वन संरक्षण लगायतका विभिन्न नीति तथा कार्यक्रमहरु सभामा पेस गरेको छ ।
कार्यक्रममा प्रदेश नं ३ का नेकपाका सांसद शान्तिप्रसाद पौडेल, राप्रपाकी सांसद रिता माझी लगाएका वक्ताहरुले नगरसभाको सफलतको शुभकामना व्यक्त गरेका थिए ।
(केहि तस्वीरहरु )




