प्रदेश ३ को राजधानी अध्ययन समितिको १५ दिन म्याद थप

  • प्रकाशित मिति: शुक्रबार, असार १५ २०७५
  • तामाकोसी खबर

रामेछाप । असार १५ गते,
प्रदेश राजधानी अध्ययनका लागि प्रदेशसभा ३ ले गठन गरेको सम्भाव्यता अध्ययन समितिको म्याद थप भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले एक महिनाको समसीमा तोकेर अध्ययन थालेको समितिको अध्ययन समय र प्रतिवेदनका लागि १५ दिन म्याद थपेको हो । प्रदेशका १० जिल्लामा राजधानीमाग गरिएपछि अध्ययन समितिले सम्भाव्यता अध्ययन गरेको थियो । राजधानी माग गर्दै प्रदेशसभामा निवेदन दर्ता गरेका काभ्रे, भक्तपुर, नुवाकोट, चितवन, ललितपुर, रसुवा, सिन्धुपाल्चोक, रामेछापको अध्ययन सकिसेकेको समितिले अहिले अस्थायी राजधानी रहेको मकवानपुरको अध्ययन गरिरहेको छ । मकवानपुरको अध्ययन सकेर प्रतिवेदन बुझाउनका लागि थप समय आवश्य भएको समितिका सभापति दीपक निरौंलाले बताए ।
समितिले अध्ययनपूर्व प्रदेशका सबै जिल्ला समन्वय समितिमार्फत सम्भावनाको आधार माग गरेर १ सय २१ बुँदाका प्रश्नावली पठाइएको थियो ।प्रश्नावलीको उत्तर पठाएका जिल्लामा समितिले अध्ययन थालेको हो । अध्ययन टोलीले सम्भावना रहेका जिल्लामा रहेका भौतिक पूर्वाधारको अवस्था, खाली रहेका जमिन, तत्काल राजधानी सञ्चालनका लागि तयार हुन सक्ने भौतिक संरचना, सुरक्षा, राजनीतिक प्रभाव, भौगोलिक अवस्थाको बारेमा अध्ययन गरेको सभापति निरौलाले जानकारी दिए । अध्ययन समिति सदस्यमा सरस्वती बस्नेत, छिरङ दोर्जे लामा, जगतबहादुर सिंखडा, प्रभात तामाङ, विराजभक्त श्रेष्ठ, डा. रामकुमार अधिकारी, रिता माझी, रिना गुरुङ, बसन्त मानन्धर, विजय सुवेदी, बिशाल खड्का, सुरेन्द्रराज गोसाई रहेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला मन्त्री कैलाश ढुङगेलले संसदमा पेश गरेको ‘प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक’ पास गरेको छ ।