बीपी राजमार्गमा १० टन र ३५ सिट मुनिका गाडी सञ्चालन गर्न पाइने

  • प्रकाशित मिति: बिहिबार, असार १४ २०७५
  • तामाकोसी खबर

काठमाडौं । असार १४ गते,
सर्वोच्च अदालतले बीपी राजमार्गमा १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन गर्न अन्तरिम आदेश दिएको छ । यातायात व्यवसायी कान्छामान बलसमेतले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले बीपी राजमार्गमा १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन नरोक्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने वा नपर्ने विषयमा छलफलका लागि असार २६ गते दुबै पक्षलाई बोलाएको छ । सर्वोच्चको आदेशपछि उक्त सडकमा निर्माण सामग्री बोकेका गाडीहरु समेत सञ्चालन हुनेछन् ।
बीपी राजमार्गमा ढुवानी र ठूला यात्रुबाहक गाडी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै असार १२ गते कान्छामान बलसमेतले जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रशासन कार्यालय सिन्धुली, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरवार काठमाडौं, जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक र जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकलाई विपक्षी बनाई रिट दायर गरेका थिए । रिटको पक्षमा कानुन व्यवसायीहरु शम्भु थापा, टीकाराम भट्टराई र टेकेन्द्र बस्नेतले बहस गरेका थिए ।