गोकुलगंगा, असार १४ गते । रामेछापको गोकुलगंगा गाउपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को लागि ३४ करोड २४ लाख ६० हजार रुपैया बराबरको अनुमानित बजेट विनियोजन गरिएको छ । गाउपालिकाद्धारा बुधबार आयोजित तेस्रो गाउसभामा गाउपालिकाले उक्त रकमको बजेट विनियोजन गरिएको उपाध्यक्ष राधिका क्षेष्ठ नेवारले जानकारी दिइन।
उपाध्यक्ष नेवारका अनुसार चालु तर्फ ४ करोड २५ लाख र पुजिगत लगाएत अन्य कार्यक्रम तर्फ १५ करोड ५ लाख ८५ हजार रुपैयाँ विनियोजन भएको छ ।
नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानमा प्राप्त भएको करिव १४ करोड ९३ लाख ७५ हजार सशर्त अनुदान तर्फको कार्यक्रममानै खर्च हुने पनि उपाध्यक्ष नेवारले जानकारी दिइन ।
पुर्वाधार विकास अन्तर्गत सडक तर्फ ३ करोड ५७ लाख, सिचाँई तर्फ ८० लाख, सामाजिक विकास अन्तर्गत शिक्षा तर्फ १ करोड ८ लाख, स्वास्थ्य तर्फ ३५ लाख, खानेपानी तर्फ १ करोड ७० लाख, खेलकुद तर्फ १ करोड, सररफाइ तर्फ ३५ लाख रुपैया विनियोजन गरिएको जनाएको छ । यसैगरी आर्थिक विकास अन्तर्गत कृषि र पशु तर्फ १ करोड ७५ लाख, पर्यटन÷ संस्कृति तर्फ ३५ लाख रुपैया विनियोजन भएको छ ।

गाउसभालाई सम्बोधन गर्दै सभाका प्रमुख अतिथि एवं ३ नम्बर प्रदेश सांसद शान्तिप्रसाद पौडेलले विकास निर्माण गरेर मात्र नहुने भन्दै त्यसको बेलाबेला अनुगमन गर्नु पर्ने बताए । उनले सम्बृद्ध गाउपालिका निर्माणमा विकासका साझेदारी निकायहरुसंग पनि सहकार्य गर्न सकिनेमा जोड दिए । स्थानिय सरकार सफल असफल स्थानिय राजश्व उठानको विषयमा भर पर्ने पनि सांसद पौडेलले सजग गराए ।
यस्तै गाउपालिका अध्यक्ष खड्ग सुनुवारले आफुहरुको १ वर्षको समयअवधि ऐन नियम निर्माणमा नै खर्च भएको स्वीकार गरे । गाउपालिकाद्धारा पारित ऐन नियमलाई अंगाल्दै रणनितिक योजना अनुरुप आफुहरुले काम गर्ने बताए । सो अबसरमा उनले “सभ्य सक्षम र समृद्ध गोकुलगंगा” मुल नारा सहित गाउपालिकाको ५ वर्षे लक्ष्य तथा उदेश्य सहितको रणनितिक योजना पनि सार्वजनिक गरे ।

