ओखलढुंगा जिल्लाको झाक्री गुफा पर्यटकीय हब भन्ने

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २७ २०७५
  • तामाकोसी खबर

ओखलढुंगा । जेठ २७ गते, रामहरि श्रेष्ठ,
ओखलढुंगाको सदरमुकाम नजिकै रहेको झाक्री गुफालाई पर्यटकी हव बनाइने भएको छ । पहिले एकजोडी बन झाँक्री बस्ने गरेको उक्त गुफामा झन्डै दुई दशकदेखि उनीहरु नदेखिएको स्थानीयको भनाई छ । अहिले सोही झाक्री गुफालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न स्थानीयवासी लागिपरेका छन् । पहिला सो गुफामा झाक्री बस्ने गरेको र गुफा वरिपरि गएका मानिसहरुलाई अदृश्य शक्तिले छोप्ने गरेको स्थानीयको भनाई छ । अहिले सोलुखुम्बु जाने मोटर बाटो सोही स्थान हुँदै जाने भएकाले धेरैपटक बटुवाहरुले झाक्रीको आवाज सुनेको र लट्टे कपाल समेत देखेको स्थानीयको भनाई छ ।
मध्य दिउँसो तथा बिहान बेलुका पारेर उक्त स्थान पुगे ढ्यांग्रो तथा घन्टी बजेको आवाज सुनिने गरेको बुढापाकाहरु सुनाउछन् । गुफामा झाक्री भएको बेला उक्त स्थान हुँदै आवतजावत गर्दा सफासुगर भएर हिडडुल गर्नुपर्ने अनुभव आफैले भोगेको स्थानीय मानबहादुर दयालले बताए । लामो समयदेखि झाक्री नदेखिएका सो अग्लो स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकको हबको रुपमा विास गर्न लागिएको बताइएको छ । हाल सो गुफासम्म पुग्नका लागि आकाशे पुल निमार्ण प्रकृया थालनी भएको छ । अहिले पुल निमार्णका लागि नगरपालिकाबाट अनुमति लिई काम अगाडि बढेको झाक्रीढुंगा सामुदायिक बनका अध्यक्ष न्यूमबहादुर बिश्वकर्माले बताए । १४ मिटर लम्बाई रहने पुलको पहिलो चरणमा वडाको ५० हजार रुपैयाँ बजेटबाट जग खन्ने काम भैरहेको छ । बाकीँ रकम नगर परिषदबाट स्वीकृत हुने बताईएको छ । हाल उक्त स्थानमा नयाँ बर्ष फागु पूर्णिमा लगायतका चाडपर्वहरुमा स्थानीयवासीले पूजाआजा गर्ने गरेका छन् ।