रामेछाप । जेठ ६ गते,
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बन्नका लागि तत्कालीन एमालेका तर्फबाट थप ४२ जना सदस्यको नाम टुंगो लागेसंगै रामेछाप जिल्लाबाट ५ जना केन्द्रीय सदस्य बनेका छन् । नेपाल कम्युनिष्ट पार्टीले आइतबार टुङग्याएको ४२ जना केन्द्रीय सदस्यभित्र प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका रामेछापका कैलाश ढुंगेलको नाम पनि समावेस भएपछि रामेछापबाट ५ जना केन्द्रीय सदस्य बनेका हुन् ।
ढुंगेल रामेछाप प्रदेशसभा ख बाट सांसद निर्वाचित भई प्रदेश मन्त्रि बनेका हुन् । यसअघि रामेछापबाट पार्टी एकता घोषणा भएकै दिन देवशकंर पौडेल, माधव ढुंगेल , धावा लामा, कमल चौलागाई केन्द्रीय सदस्य बनेका थिए ।
पौडेल तत्कालिन एमालेको बेकल्पिक केन्द्रीय सदस्य एवं रामेछापका जिल्ला इन्चार्ज थिए । ढुंगेल एमालेका बैकल्पिक केन्द्रीय सदस्य हुन् । धावा यस अघि तत्कालिन माओवादी केन्द्रका रामेछापको जिल्ला इन्चार्ज र पार्टीको स्थायी समिति सदस्य थिए । कमल चौलागाई निर्वाचन अघि संयुक्त राष्ट्रवादी समाजवादी पार्टीको अध्यक्षबाट माओवादी केन्द्रसँग पार्टी एकता गरेर आएका थिए । यसअघि तत्कालिन नेकपा एमालेका पूर्व सभासद एवं पूर्व केन्द्रीय सदस्य कमला सुवेदीको पनि नेकपाको केन्द्रीय सदस्यमा चर्चा चलेपनि टुङगो लगाएको ४२ जनाको नाममा सुवेदीको नाम समावेश भएको छैन ।
प्रदेश ३ का मन्त्री ढुंगेल सहित रामेछापबाट ५ जना नेकपाको केन्द्रीय सदस्य बने
- प्रकाशित मिति: आइतबार, जेष्ठ ६ २०७५
- तामाकोसी खबर