सोमबारदेखि लोडसेडिङमुक्त नेपाल

  • प्रकाशित मिति: सोमबार, बैशाख ३१ २०७५
  • तामाकोसी खबर

काठमाडौं, वैशाख ३१ – नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा आइतबारसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ सोमबारदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा गरेको हो ।

खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।



अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको प्राधिकरणले जनाएको छ । यस्तै, चुहावट पनि ६ प्रतिशत घटाएकाले बिजुलीको माग धान्न सहज भएको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गर्न निर्देशन दिए अनुसार औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गरिएको पनि उहाँले बताउनुभयो ।

यससँगै १५ वर्षपछि लोडसेडिङ समाप्त भएको पनि प्राधिकरणले जनाएको छ । सन् २००३ मा सुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको प्रयत्नमा २०७३ सालको तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत मुख्य शहरमा लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

यता नेपाल विद्युत प्राधिकरणले विभिन्न कारणले केहीबेरका लागि बिजुली जाने क्रम लोडसेडिङ नभएको बताएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले अहिलेको प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारणरबितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मतसम्भार तथा विकास निर्माणका कामका कारण कहिलेकाँही केही समयका लागि बिजुली नआउन सक्ने तर त्यसलाई लोडसेडिङ भन्न नमिल्ने बताउनुभयो ।