रामेछाप । वैशाख २ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीदेखि पुरानो सदरमुकाम रामेछाप बजारसम्म जोड्ने सडकको काम पूरा नहुँदै कालोपत्रे भत्कदैजाने क्रम बढेको छ । कामनै सम्पन्न नभइ सडकको कालोपत्रे उक्किएपछि सडकको गुणस्तरीयता माथि प्रश्न उठ्दा पनि सम्म सम्बन्धीत निकाय भने मौन बसेको छ ।
मन्थलीदेखि रामेछापसम्मको १७ किलोमिटर लामो सडकको कालोपत्रेको काम सन् २०१७ को फेब्रुअरी महिनासम्म पूरा गर्ने गरी बज्रगुरु कन्सट्रक्सन प्रालिले जिम्मा लिएको थियो । एक वर्ष ढिलो गरी हालै काम पूरा भएको सो सडक १४ करोड ६५ लाख रुपैयाँमा निर्माणकार्य पूरा गर्नेगरी सो कम्पनीले काम जिम्मा लिएको हो ।
सडकको नाली बनाउने तथा पाइप राख्ने, कालोपत्रे गर्ने र अन्य काम पूरा भएको छ । सडकको काम पूरा गरिसकेको निर्माण कम्पनीले गरेको काम गुणस्तरीय नभएको स्थानीय उपभोक्ताले सुरु देखिनै गुनासो गर्दै आएका थिए ।
सडक निर्माणको क्रममा लगाइएको पर्खाल तथा नालीमा सिमेन्टको मात्रा कम प्रयोग भएको तथा पर्याप्त पानी नहाल्दा पर्खाल र नाला कमजोर भएको भन्दै स्थानीयले पहिलादेखि नै गुनासो गर्दै आएकोमा अहिले पिचको काम सकिनासाथ सडको विभिन्न ठाउँमा कालोपत्रे उक्किएपछि काम गुणस्तरीय नभएको प्रमाणित भएको छ ।
सडक निर्माणको काम पुरा नहुँदै पिच उक्किनु आश्चर्यको कुरा भएको स्थानीयको भनाई छ । उनीहरुले यस विषयमा छानविन गरी आवश्यक कारबाही गर्नु पर्ने बताएका छन् । यो सडक हेर्ने सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख राकेश महर्जनले सडक पिच गर्दा प्रयोग गरिने बढी भएकोले सडक भत्किएको बताए ।
सुरुपमा रामेछाप बजारको कारागार नजिकै भत्किएको सडक अहिले बाबियाखर्क खण्डमा पनि विभिन्न स्थानमा भक्तिन लागेको छ । भत्किएको सडक पुर्न र थप भत्कन नदिन निर्माण कम्पनीले अहिले धमाधम बालुवा हालि रहेको छ ।
काम नसकिदै मन्थली रामेछाप सडकको कालोपत्रे भत्कियो, सरोकारवाला निकाय मौन
- प्रकाशित मिति: आइतबार, बैशाख २ २०७५
- तामाकोसी खबर