माओवादी मागबारे छलफल गर्न एमालेको बैठक बस्दै

  • प्रकाशित मिति: मंगलबार, चैत्र २० २०७४
  • तामाकोसी खबर

काठमाडौं । चैत २० गते,
पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि नेकपा एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह २ बजे स्थायी कमिटी बैठक डाकेका छन् । संयोजन समिति बैठक साँझ बस्दैछ । माओवादीले पार्टी एकीकरणमा बराबरी संख्या माग गरेको र जनयुद्ध शब्द राख्ने तथा सूर्य चिन्ह नमान्ने अडान लिएको सन्दर्भमा एमालेको आधिकारिक धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । एमालेले सूर्य चिन्ह नछाड्ने र माओवादीलाई ५० प्रतिशत हिस्सा दिन नसकिने अनौपचारिक सन्देश दिइसकेको छ ।
पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले चुनावमा जस्तो प्रतिशत छुट्याएर एकीकरण नहुने भन्दै समानतामा आधारित एकता हुने बताइरहेका छन् । यसलाई एमाले पंक्तिले ५०र५० को अर्थमा बुझे पनि माओवादीका एक नेताले भने त्यसरी नबुझ्न आग्रह गरेका छन् ।राजनीतिक दस्तावेज मस्यौदा कार्यदलका सदस्य समेत रहेका माओवादी स्थायी कमिटी सदस्य शक्ति बस्नेतले संख्याको कुराले पार्टी एकता नरोकिने बताए । माओवादी नेताहरुले ५०र५० आफ्नो बटमलाईन नभएको समेत बताएका छन् । तर एमालेले भने जस्तो ७०र३० को आधारमा एकता नहुने र त्यो भनेको बिलयमात्र हुने उनीहरुको तर्क छ । दुवैपक्षले सम्मानजनक एकताको अनुभूति गर्नुपर्ने माओवादी नेताहरुको भनाइ छ । स्रोतका अनुसार एमाले नेताहरु पनि यस सन्दर्भमा बिभाजित छन् ।
माओवादीलाई ३० प्रतिशत भन्दा बढी दिन नसकिने एकथरी नेताको अडान छ भने केही नेता संख्याका कारण एकता भाँडिन नहुनेमा सचेत छन् । दुबै पार्टीका अध्यक्ष तहमा कुरा भएपछि संख्याको विवाद मिल्ने नेताहरुले बताए । पार्टी एकता प्रक्रियामा शुरुदेखि सामेल रहेका एमाले उपमहासचिव बिष्ण पौडेलले प्रतिशतका आधारमा भागबण्डा नहुने बताए । उनले भने(एमालेले ६० र माओवादीले ४० प्रतिशत सिट बाँडफाँड गरेर चुनाव लडेको जस्तो पार्टी एकीकरणमा त्यो सूत्र लागु हुन्न, अहिले भने जस्तो ५०र५० पनि हुन्न । संख्याको विवादनै होइन,सबै कुरा मिल्छ ।