पानीको मुहान सुकेपछि मन्थली कठजोरका स्थानीय चिन्तामा

  • प्रकाशित मिति: आइतबार, चैत्र ११ २०७४
  • तामाकोसी खबर

रामेछाप । चैत ११ गते,रमेश ढुंगेल,
पानीका धारा तथा कुवाको पानी सुके पछि रामेछापको मन्थली नगरपालिका ३ कठजोरका स्थानीयहरु चिन्तित बेनेका छन् । साविक कठजोर गाविसको ठुलीमदौ, भदौरे, अर्चले, पिप्ले, डाँडागाउँ ,वाहुनगाउँ लगाएतका स्थानमा खानेपानीका मुहानहरु सुकेका छन् ।
स्थानीयहरुले पानीको समस्याका कारण भुकम्प प्रतिरोधि घर बनाउन समेत सकेका छैनन । सरकारले अघिल्लोपटक दिएको समयावधि पुष मसान्त सम्ममा डिपिसी गरेका घरहरु पानी अभाकै कारणले थप निर्माण हुन सकेका छैनन् । बल्ल तल्ल गरेको डिपिसि पनि सुकेर गएको छ ।
कठजोरका पूर्वगाविस उपाध्यक्ष दुर्गा बहादुर बस्नेतले खान र घर निर्माण गर्न टयांकरमा ओसारेको पानी प्रयोग गरिरहको बताए । यसरी बोकीने पानी प्रतिलिटर २ रुपैया पर्छ । स्थानीय कालिका आधारभुत बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर केसी , कठजोरका रमेश अधिकारी, शर्मलाल तमाङ लगाएतका धेरै भूकम्प पीडितहरुले ट्याङकरमा पानी बोकेर घर बनाउन लागेका छन् ।
साविक कठजोर हाल मन्थली नगरपालिका वडा नं २ र ३ मा बिभिन्न स्थानहरुबाट ल्याइएको पानीका मुहानहरु सुकिसकेका छन् । यी ठाउँहरुमा लिफ्ट खानेपानी सञ्चालनको बिकल्प नरहेको मन्थली गरपालिका वडा नं २ का अध्यक्ष तरणी शंकर अधिकारीले बताए ।