रामेछाप । चैत ८ गते,कैलाश खत्री,
रामेछाप जिल्लाका स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम दिइएको छ । जिल्लाको लिखु तामाकोशी गाउँपालिका र खाडाँदेवी गाउँपालिकाका महिला जनप्रतिनिधिहरुलाई आधारभुत क्षमता विकास तालिम दिएको हो ।
चैत ६ गतेबाट सदरमुकाम मन्थलीमा शुरु भएको तालिमको विहिबार सम्पन्न भएको छ । साझेदारी विकास परियोजनाको आयोजना र जनभावना युवा क्लब टोकरपुर रामेछापको समन्वयमा तालिम संचालन गरिएको जनभावना युवा क्लब टोकरपुरका कार्यक्रम संयोजक तुला प्रसाद कडेँलले जानकारी दिए ।
तालिमपछि स्थानीय निकायको कामलाई प्रभावकारी ढङ्गले संचालन गर्न सहयोग पुगेको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ६ खिम्तीकी वडा सदस्य सुशीला थापाले बताए । बजेट निर्माण प्रक्रिया र विकास निर्माणका काममा समेत योजना बनाउन सिकेको उनको भनाई छ ।
यस्तै खाडाँदेवी गाउँपालिकाका उपप्रमुख मखमली श्रेष्ठले स्थानीय तहको नेतृत्वलाई सक्षम बनाउन सहयोग पुगेको बताए । लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहालले वडापालिका सफल भए मात्रै गाउँपालिका सफल हुने बताउदै सिकेका अनुभव लागु गर्नुपर्ने बताइन् । दुई गाउँपालिका गरी ३४ जना स्थानिय जनप्रतिनिधि सहभागी तालिमको सहजीकरण सहजकर्ता कोपिला शिवाकोटी र सुशासनकर्मी उमङ्ग मैनालीले सहजीकरण गरेका थिए । कार्यक्रमको समापन गर्दै खाडाँदेवी गाउँपालिकाका प्रमुख प्रेम बहादुर तामाङले अब जनताको लागि काम गर्ने बेला आएको बताउदै स्थानीय तहको विकासमा दत्तचित्त भएर लाग्न महिला जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
रामेछापका महिला जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम
- प्रकाशित मिति: बिहिबार, चैत्र ८ २०७४
- तामाकोसी खबर