रामेछापमा भूकम्प पछिको पूननिर्माण विषयमा सार्वजनिक सुनुवाई

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २ २०७४
  • तामाकोसी खबर

रामेछाप । चैत २ गते , नवराज पथिक,
भूकम्प पछिको पुननिर्माणको अवस्थाको बारे सार्वजनिक सुनुवाई कार्यक्रम शुत्रबार रामेछापको मन्थली नगरपालिका–८ गाईखुरामा सम्पन्न भयो । अनौपचारिका क्षेत्र सेवा केन्द्र (इन्सेक) र सान नेपाल रामेछापको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले भूकम्प पछि पुननिर्माणको क्षेत्रमा भएको प्रगति तथा देखिएका समस्या र त्यसको समाधानको उपाय खोजि गर्न इन्सेकले हरेक ३÷३ महिनामा गाउँगाउँमा गएर सार्वजनिक सुनुवाई गरिरहेको जानकारी दिए । उनले सरोकारवाला बिचमा हुने हाकाहाकि सवाल जवाफले विषयवस्तुमा स्पष्ट हुन सहयोग पुग्ने बताए ।
सार्वजनिक सुनुवाईका सहभागिहरुले गाइखुरामा एकिकृत वस्ति विकास गर्ने कुरा भए पनि त्यो हुन नसकेको गुनासो गरे । उनीहरुले पर्याप्त जनशक्ति तथा आर्थिक संकटको कारण घर बनाउन समस्या भएको बताए । अधिकाँस आदिवासी माझी समुदायको वसोवास रहेको सो वस्तीमा बस्तीको बिचबाट विद्युको प्रशारण लाइनको तार तानिँदा घर बनाउने ठाउँ समेत नभएको स्थानीयले गुनासो गरे । सरकारले छिटो छिटो काम गर्न भन्दै अत्याउँदा सुरैले बलियो घर बनाउ समेत नपाएको उनीहरुले गुनासो गरे ।
सहभागिहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्थली नगरपालिका–८ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले विद्युतको लाइन सार्ने विषयमा विद्युत प्राधिकरणको मन्थली वितरण शाखमा बारम्बार कुरा भई रहेको जानकारी दिए । प्राधिकरणबाट पोल सारिदिने आश्वासन पनि आएको उनले बताए ।
स्थानीय ४२ जनाको सहभागिता रहेको सार्वजनिक सुनुवाईमा सो वस्तिलाई प्रभाव पार्ने गरी टाँगिएको विद्युत पोल अन्यत्र सारिदिन विद्युत प्राधिकरणमा अनुरोध गर्ने तथा सामाजिक संस्थाहरुले वडामा काम गर्दा वडाकार्यालयसँग समन्वय गरेर काम गर्ने २ वुँदे प्रतिवद्धता तथा निर्णय भएको छ । कार्यक्रमको सहजिककरण सान नेपालका अध्यक्ष उमंग मैनालीले गरेका थिए ।