गैसस महासंघ रामेछापद्धारा प्रदेश ३ का अर्थमन्त्री ढुंगेल सम्मानित

  • प्रकाशित मिति: आइतबार, फाल्गुन २० २०७४
  • तामाकोसी खबर

रामेछाप । फागुन २० गते,
गैर–सरकारी संस्था महासंघ रामेछापले एक कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर ३ का अर्थ तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेललाई सम्मान गरेको छ । आइतबार सदरमुकाम मन्थली आयोजित कार्यक्रममा लामो समयपछि प्रदेशमा रामेछापले प्रभावशाली मन्त्री पाएकोमा खुशी व्यक्त गर्दै सम्मान गरिएको गैर–सरकारी संस्था महासंघले जनाएको छ । कार्यक्रममा प्रदेश सांसदहरु शान्ति प्रसाद पौडेल र रिता माझीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले रामेछापको आर्थिक , भौतिक र सामाजिक विकासमा गैर–सरकारी संस्थाले गरेको योगदानको आफुले कदर गर्ने धारणा व्यक्त गरे ।
सरकारले गैर–सरकारी संस्थाहरुलाई सहयोग गर्ने समेत बचन दिए । उनले प्रदेशको आर्थिक योजना निर्माण गर्दा गैरसरकारी संस्थाहरुको सहयोग र सुझाव लिने बताए । उनले सवैले सकरात्मक सोचका साथ एक भएर अगाडि बढेको खण्डमा मात्रै मुलुकको विकास हुने बताए । कार्यक्रममा बोल्दै गैर–सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष मिलन कुमार घिसिङले लामो समयपछि रामेछापले मन्त्री पाएको भन्दै अब जिल्लाको विकासमा जनताको चाहाना अनुसार काम हुनेमा आसावादी रहेको बताए । उनले गैर–सरकारी संस्थाहरुले मुलुकको विकासका लागि ठुलो भूमिका खेलेको भन्दै प्रदेश सरकारले यसलाई मुल्याङकन गरी आवश्यक सहयोग र समन्वय बढाउनुपर्ने बताए ।