गोपाल पराजुलीको मिलेमतोमा आफूविरुद्ध अफवाह फैल्यायोः डा.गोविन्द केसी

  • प्रकाशित मिति: बुधबार, फाल्गुन ९ २०७४
  • तामाकोसी खबर

फागुन ९,काठमाडौं – डाक्टर गोविन्द केसीले आफ्ना शैक्षिक प्रमाणपत्रमा भूलवश २ वटा जन्ममिति उल्लेख भएको स्वीकार्नुभएको छ ।

डाक्टर केसीकै ३ वटा जन्ममिति रहेको खबर विभिन्न सञ्चारमाध्यममा आएपछि डाक्टर केसीले बुधबार पत्रकार सम्मेलन गरेर आफ्ना शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्नुभएको छ । पत्रकार सम्मेलनमा उहाँले आफ्नो एसएलसीको चारित्रिक प्रमाणपत्रमा भुलवस अर्को मिति हुन गएको भन्दै भ्रष्टाचारविरुद्धको आफ्नो आन्दोलनलाई कमजोर बनाउन अनावश्यक हल्ला फैलाइएको आरोप लगाउनुभएको छ ।



गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर गरेका त्रिविका उपकुलपति तीर्थ खनियाँ र कानुन संकायका डिन तारा सापकोटा तथा प्रधानन्यायाधीश गोपाल पराजुलीको मिलेमतोमा आफूविरुद्ध अफवाह फैलाइएको पनि डाक्टर केसीले आरोप लगाउनुभयो ।

डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ । यस्तै उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।

आफ्नो जन्ममितिलाई लिएर विवाद भएपछि डा. केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर त्रुटी स्वीकार गरेका छन् ।