रामेछापको पुरानागाउँमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम

  • प्रकाशित मिति: शनिबार, फाल्गुन ५ २०७४
  • तामाकोसी खबर

रामेछाप । फागुण ५ गते,
शुक्रबार तामाङ समुदायको महान पर्व खिल्हो २८५४ कुकुर वर्ग सोनाम ल्होछारको अवसरमा मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

बाङ्गेसल्ला तामाङ समाजका अध्यक्ष राज घिसिङको अध्यक्षता र मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले सबै जातजातिको धर्म, संस्कृतिको प्रवद्र्धन र विकास गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए । उनले युवाहरुमा आफ्नो धर्म र संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने भावना जागृत हुनु सकारात्मक कुरा भएको बताए । सबै जातजातिको धर्म , संस्कृतिको प्रवद्र्धन र विकासको सबै प्रक्रिया मिलाउन समय लाग्ने भएकोले नआत्तिन उनले आग्रह गरे ।
कार्यक्रममा लुम्बीनी वौद्ध विश्वविद्यालयका सह प्रध्यापक ध्यान बहादुर मोक्तान, नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की, पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठ, मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानिका वडा अध्यक्ष राजकुमार श्रेष्ठ, , मन्थली नगरपालिका वडा नम्बर ३ का अध्यक्ष केशब रोक्का, सदस्य नारायण बोगटी ,नेपाल तामाङ घेदुङ संघका केन्द्रिय सदस्य सोनाम ग्यापक लगाएतले आफ्नो परम्परा र रितिरिवाजलाई जर्गेना गर्न सबै गाउँमा यस्तो कार्यक्रम आवश्यक रहेको बताए । कार्यक्रममा नेकपा एमाले पुरानागाउँका अध्यक्ष रमेश गेशमाली , वडा सचिव प्रेम बहादुर श्रेष्ठ , अधिवक्ता ज्ञानेन्द्र आरण लगाएले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुले विभिन्न सांगितिक प्रस्तुती समेत दिएका थिए । शुक्रबार ग्याल्बो ल्होछार पनि एकै साथ परेकोले रामेछापका शेर्पा समुदायले पनि शुक्रबारै ल्होछार मनाएका छन् ।