फागुन २, काठमान्डौ – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने औपचारिक निर्णय गरेको छ । ललितपुरको मानभवनमा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले बुधबार राष्ट्रपति विद्या भण्डरीलाई चुनावको अन्तिम परिणाम बुझाएपछि आफूहरुसँग सरकार बनाउन बहुमत रहेको दावी गर्ने निर्णय पनि एमालेले गरेको छ । बहुमतको दावी गर्दै पार्टीकातर्फबाट राष्ट्रपतिलाई पत्र बुझाइने छ । बैठकमा माओवादीसँग पार्टी एकताको विषयमा भएका सहमतिबारे ओलीले स्थायी कमिटिका सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।
सदस्यहरुले माओवादीसँग भएको भनिएको सहमतिमा सामान्य हेरफेर गर्ने सुझाव दिएका छन् । स्थायी कमिटिमा भएको छलफलका आधारमा अध्यक्ष ओलीले पार्टी एकता संयोजन समितिको बैठकमा पार्टीको अन्तिम अडान राख्नुहुनेछ ।
एकीकृत पार्टीको अध्यक्षता केपी शर्मा ओली र प्रचण्डले आलोपालो गर्ने सम्भावना रहेको एमाले सचिव गोकर्ण बिष्टले जानकारी दिनुभयो । त्यस्तै अहिले नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमा माओवादी हेडक्वार्टरको बैठक चलिरहेको छ । एमालेका स्थायी कमिटिको बैठक सकिएलगत्तै पार्टी एकता संयोजन समितीको बैठक पनि ललितपुरको मानभवनमा बस्दैछ ।