माझी समुदायको लदी पूजालाई राष्ट्रिय पर्वमा सुचिकृत गर्न माग

  • प्रकाशित मिति: शनिबार, माघ २७ २०७४
  • तामाकोसी खबर

रामेछाप । माघ २७ गते,
रामेछापको सदरमुकाम मन्थलीमा माझी समुदायको महान चाड लदी अथवा कोशी पूजा बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । संस्कार र संस्कृति जातिय पहिचान राष्ट्रिय पर्वमा सूचिकृतका लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ भएको कार्यक्रम नेपाल माझी उत्थान संघ रामेछापले आयोजना गरेको हो । कार्यक्रम नेपाल माझी उत्थान संघ रामेछापका अध्यक्ष इन्द्र बहादुर माझीको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख बस्नेतले मन्थली नगरपालिका भित्रका सबै जातजातिका भाषा संस्कृतिको संरक्षण नगरपालिकाले गर्ने बताए । तर यसका लागि विभिन्न प्रक्रियाहरु पुरा गर्नुपर्ने भएकाले हतार नगर्न सबैमा उनको आग्रह छ । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका सदस्य पुर्ण बहादुर महत,खाडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङ, नेपाल गैरसरकारी संस्था महासंघका उपाध्यक्ष भुवन कुमार श्रेष्ठ र नेपाल आदिवासी जनजाति महासंघ रामेछापका अध्यक्ष युवराज हेल्मो र पत्रकार नबराज पथिकले माझी समुदायको महान चाड लदी पुजालाई राष्ट्रिय पर्वमा सुचिकृत गर्नु पर्नेमा जोड दिए ।