माघे झरीले रामेछापको जनजीवन प्रभावित, किसानहरु हर्षित

  • प्रकाशित मिति: बुधबार, माघ १० २०७४
  • तामाकोसी खबर

रामेछाप । माघ १० गते,
अन्य जिल्लामा जस्तै रामेछापमा पनि बुधबार विहानैदेखि दिउँसो सम्म पानी परेको थियो । माघे झरीका कारण चिसो ह्वात्तै बढेको छ । चिसोका कारण जिल्लाको उच्च लेकाली भेगहरुमा हिमपात सुरु भएको छ । अन्य भागमा पनि चिसो निक्कै बढेको छ । जाडोको कारण जनजीवन प्रभावित भएको छ । सर्वसाधारणहरु विहानदेखिनै घरबाट बाहिर निस्कन सकेका छैनन् । जिल्लाको माथिल्लो भेगमा मंलबार बेलुकादेखिनै हिमपात भएको छ । सैलुङ क्षेत्रमा पर्ने डडुवा, गौश्वारा लगायतका क्षेत्रमा बाक्लो हिउँ परेको छ । त्यसैगरि गुम्देल, चुचुरे, प्रिति, गुप्तेश्वर लगायतका क्षेत्रमा पनि हमपात भएको स्थानीयले बताएका छन् ।
मंगलबार साँझदेखिनै हिउँ पर्न थालेपछि घरबाट बाहिर निस्कन नसकेको दोरम्बा गाउँपालिकाको डडुवाका दावासंङ्वु शेर्पाले बताए । रातिदेखि भएको हिमपात र विहानबाट परेको पानीको कारण निक्कै चिसो बढेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताए । हिउँ र पानीको कारण भूकम्प प्रभावितहरु थप समस्यामा परेका छन् । नीजि आवास निर्माणको काम नसकेका भूकम्प प्रभावितलाई अस्थायी टहरा तथा खुल्ला आकाशमुनि बस्नु पर्दा दैनिकी कष्टकर बनेको छ । अस्थायी टहरमा बस्दै आएका वृद्धवृद्धा, बालबालिका तथा विरामीहरुमा स्वास्वास प्रस्वास्वाको समस्या देखिएको छ ।
माघमा पानी र हिउँ परेपछि चिसो निक्कै बढेपनि सर्वसाधारण भने हर्षित भएका छन् । हिउँद महिना लागेदेखि पानी नपर्दा बढेको धुलो तथा तुवालोले हैरान भएका सर्वसाधारणहरु पानी परेपछि मौशम खुल्ने भन्दै हर्षित भएका छन् । हिउँ र पानी परेपछि सबैभन्दा बढी हर्षित भने किसानहरु भएका छन् । जिल्लाका रामेछाप अधिकांस भाग सुख्खाग्रस्त भएकाले खानेपानीकै चरम अभाव छ । आकाशको पानीमा भर पर्ने किसानहरुलाई यो पानीले त्राण दिएको छ ।
यो पानीले किसानहरुले लगाएको गहँु, आलु, लसुन, प्याज, साग पात लगायतका बालिहरुलाई राहात भएको किसानहरुको भनाई छ । त्यतिमात्रै हैन पानी नपरेकै कारणले जोत्न र खन्न नसकिएको खेत बारी पानी परेपछि जोत खन गर्न सजिलो भएको किसानहरु बताउछन् । लामो समयपछि परेको पानीले जिल्लामा लगाइने खडाबालीहरु गहँु , आलु , तोरी लगाएतका बालीहरुलाई ठुलो राहात भएको जिल्ला कृषि विकास कार्यालय रामेछापका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कुमार मल्लले बताए । यो पानीले वसन्ते मकैलाई पनि निकै फाइदा गर्ने उनको भनाई छ । जिल्लामा अहिले तल्लो नदी किनारको क्षेत्रका किसानहरुले गहँु, आलु, तोरी लगाएत तरकारी लगाएका छन् । त्यसै गरी मध्य पहाडी क्षेत्रका किसानहरुले मुखय वालीका रुपमा तोरी लगाएका छन् भने उपल्लो भेगका किसानहरु आलु रोप्ने तयारीमा छन् । अहिले परेको पानी यी सबै भेगका किसानहरुका लागि ठुलो राहात भएको वरिष्ट कृषि विकास अधिकृत मल्लको भनाई छ ।