काठमाडौं, पुस २४ – नेकपा एमाले र माओवादी केन्द्रबिच कार्यदल बनाएर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना टुंग्याउने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आइतबार बेलुका ओली निवास बालकोटमा भएको छलफलमा यस्तो सहमति भएको हो ।
दुई शीर्ष नेताबिच आन्तरिक छलफलका लागि सोमबार पार्टी बैठक डाक्ने र मंगलबार पार्टी एकता संयोजन समितिको बैठक राख्ने सहमति भएको छ । मंगलबार बस्ने संयोजन समिति बैठकले कार्यदल गठन गरेर त्यसको कार्यक्षेत्र तोक्ने तयारी छ ।
केही दिनभित्र पार्टी एकता प्रकृयालाई निष्कर्षमा पुर्याउनेबारे दुई अध्यक्षबिच सहमति भएको पनि उहाँले जानकारी दिनुभयो । एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने वा नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबिच फरक फरक धारणा सार्वजनिक भैरहँदा ओली र प्रचण्डबिच भेटवार्ता भएको हो ।
भेटपछि पत्रकारसँग कुरा गर्दै माओवादीका अध्यक्ष प्रचण्डले पार्टी एकतालाई निष्कर्षमा पुर्याउनैपर्छ भन्नेमा आफूहरु बीच छलफल भएको बताउँदै त्यसको लागि सोमबार आ-आफनो पार्टीभित्र छलफल गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको जानकारी दिनुभयो ।
