ओखलढुङ्गा । पुस १५ गते,
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केसीले आफ्नै कर्मचारीलाई कुटपिट गरेका छन् । प्रमुख केसीले बिहीबार राति गाउँपालिकाका प्राविधिक मिनबहादुर कार्कीलाई कुटपिट गरेका हुन् । केसीको कुटाईवाट त्यसै गाँउपालिकाको पलापु, कालिका हेर्ने प्राविधिक सहायक मिनकुमार कार्की घाइते भएका हुन् ।
घटना बिहीबार राति भएको र घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको बताइएको छ । बेलुकीको खानपानका बेला विवाद भई सामान्य झगडा भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । घटनाको बारेमा टेलिफोनवाट जानकारी भए पनि जिल्ला प्रशासन कार्यालयमा कुनै पनि उजुरी नआएको तथा घटनाबारे गाँउपालिकामा नै छलफल भएको जानकारी आएको प्रजिअ पन्तले बताउनु भयो । गाँउपालिका प्रमुख केसीको कुटाईवाट घाइते भएका कर्मचारी कार्कीले बिना कारण आफूमाथि कुटपिट भएको बताएका छन् ।
गाउँपालिकाको केही वडाहरुमा भएको विकास निर्माणको योजना फरफारक गर्न काम नभएका योजनाको पनि लागत अनुमान पास गर्न दबाब दिएको र काम नभएको योजनाको सम्पन्न लागत अनुमान गर्न नमानेकाले आफूमाथि कुटपिट गरेको पीडित कार्कीले आरोप लगाएका छन् । घटनाको बारेमा गाउँपालिका प्रमुख नवराज केसीले टेलिफोनमा यसबारे प्रमुख कार्यकारी अधिकृतसँग कुरा भएको बताउँदै घुमाउरो तरिकाले स्वीकार गरे पनि आफुले नकुटेको दावी गर्नुभयो ।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका प्रमुख नवराज केसीद्धारा आफ्नै कर्मचारीलाई कुटपिट
- प्रकाशित मिति: शनिबार, पुष १५ २०७४
- तामाकोसी खबर