काठमाडौं, पुस १२ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले भत्केका घर पुनर्निर्माणमा ४६ प्रतिशत प्रगति भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
काठमाडौंमा कार्यक्रम गरी प्रगति प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा ४६ प्रतिशत घर पुनर्निर्माण भैरहेको दाबी गरेको हो । प्राधिकरणले भूकम्पले भत्काएका सबै घरको नभई पहिलो किस्ता लिएकाहरुमध्येबाट ४६ प्रतिशत प्रगति भएको दाबी गरेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आउने असारभित्रै ६० प्रतिशत भूकम्प प्रभावितलाई स्थायी घरमा सार्ने गरी काम भैरहेको बताउनुभयो । तथ्याङ्कमा अनुदान योग्य लाभग्राहीको सूचिमा परेका ७ लाख ६७ हजार मध्ये ६ लाख ६४ हजारले अनुदानको पहिलो किस्ता बुझेका छन् ।
७९ हजार ५ सय १४ घर बनिसकेका छन् भने १ लाख ९४ हजार १ सय ९६ घर बन्दैछन् । कार्यकारी प्रमुख भुसालले आफ्नो नेतृत्वको दुई महिनामा घर पुनर्निर्माणले गति लिएको समेत दावी गर्नुभयो ।