ईपीएल क्रिकेटमा ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियोट्स विजयी

  • प्रकाशित मिति: सोमबार, पुष ३ २०७४
  • तामाकोसी खबर

काठमाडौं, पुस ३ – एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटमा ललितपुर प्याट्रियोट्सले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेनलाई ७ विकेटले हराउँदै ललितपुरले विजयी सुरुवात गरेको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको काठमाडौं किंग्स इलेभेन १८ ओभर ३ बलमा ८९ रनमा अलआउट भयो ।

काठमाडौं किंग्स इलेभेनका लागि अमित श्रेष्ठले २७ र श्रीलंकन खेलाडी अक्षु फर्नान्डेजले १५ रन बनाउनबाहेक अन्यले गतिलो रन जोड्न सकेनन् । काठमाडौंलाई ८९ रनमा अलआउट गर्ने क्रमममा ललितपुरका लागि भारतीय बलर सुवाध भाटीले ४ तथा ललित राजबंशीले ३ र मेहवुव आलमले २ विकेट लिए  ।



ललितपुरको जितमा भारतीय खेलाडी जयकिशन कोल्सावालले ४४ रन बनाए । १५ गतेसम्म चल्ने प्रतियोगितामा ६ टिमको सहभागिता छ  । उपाधि जित्नेले २१ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा मंगलबार बिहान ९ बजे चितवन टाइगर्स र पोखरा राइनोज तथा पौने १ बजे विराटानगर वारियर्स र ललितपुर प्याट्रियोट्सबीच खेल हुनेछ ।

हरेक टोलीमा ३ जना विदेशी खेलाडी हुनैपर्ने, १ जना ट्यालेन्ट हन्टबाट छान्नुपर्ने, अन्य खेलाडीको बोलकवोललगायतका कारणले इपिएलमा रोमाञ्चक बनेको छ । यस्तै त्रिवि क्रिकेट मैदानको सजावट र उद्घाटनको दिन आज भएको सांस्कृतिक कार्यक्रमले क्रिकेट हेर्न गएका दर्शक रमाइरहेका थिए ।