वरिष्ठ साहित्यकार घिमिरेको स्मृति दिवस जन्मथलो रामेछापमा यसरी मनाईयो

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १४ २०७४
  • तामाकोसी खबर

रामेछाप । कार्तिक १४ गते,
वरिष्ठ साहित्यकार, समाजसेवी तथा पत्रकार जगदीश घिमिरेको चौथो स्मृति दिवस मंगलबार मन्थलीमा सम्पन्न भएको छ । घिमिरेले स्थापना गरेको मन्थलीमा रहेको तामाकोसी सेवा समितिको प्राङ्गणमा भएको स्मृति सभा संस्थाका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष प्रेमबहादुर खड्काले रामेछापका सर्वाङ्गीण विकासमा जगदीश घिमिरेको अविष्मरणिय योगदान रहेको बताए ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले घिमिरेको विकासको मोडल अहिले पनि त्यतिकै उपयोगि र जनमैत्री रहेको बताए । रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले जगदीश घिमिरे एउटा दुरदर्शी व्यक्तित्व भएको बताए । कार्यक्रममा जगदीश घिमिरेसँग काम गरेका सामाजिक अगुवा ध्रुवप्रसाद सुवेदी, डाक्टर सुमन कर्माचार्य, रामचन्द्र वियोगी , नेपाली काँग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुँगेल, पूर्वअध्यक्ष टीकाप्रसाद भट्ट लगायतले रामेछापको आर्थिक, सामाजिक विकास तथा नेपालको साहित्यिक र पत्रकारीताको विकासमा घिमिरेको योगदानको बारेमा चचौ गरेका थिए । समाजसेवी तथा साहित्यकार जगदीश घिमिरेको अन्तरमनको कथा नाम आख्यानले मदन पुरस्कार प्राप्त गरेको थियो । उनको २०७० साल कात्तिक १४ गते ६८ वर्षको उमेरमा माइलोमा नामको क्यान्सरबाट मृत्यु भएको थियो । उनले रामेछापमा स्वास्थ्य, खानेपानी तथा सिँचाईको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् ।