रामेछाप । कार्तिक १२ गते,
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछापका राजनीतिक दलहरु सभा तथा घरदैलोमा लागेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सदरमुकाम मन्थलीमा शनिबार संयुक्त अगुवा कार्यकर्ता भेला गरी आइतबारबाट गाउँस्तरका चुनावी कार्यक्रम सुरु गरेका छन् । संयुक्त वाम गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र रामेछापका शीर्ष नेताहरुले बोलेका थिए ।कार्यक्रममा वाम गठबन्धनका निर्वाचन परिचालन समितिका संयोजक एवं नेकपा एमालेका केन्द्रीय सदस्य देवशंकर पौडेलले वाम एकता अहिलेको आवश्यकता भएको बताए ।कार्यक्रममा वाम गठबन्धनका तर्फबाट रामेछाप प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य श्या
म कुमार श्रेष्ठले देश विकासका लागि वाम एकता भएको बताए । जनताले चाहेको विकास वाम एकताबाटै हुने उनको दावी छ ।
कार्यक्रममा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाको क्षेत्र नं १ का उम्मेदवार शान्ति प्रसाद पौडेल र क्षेत्र नं २ का उम्मेदवार कैलाशप्रसाद ढुंगेलले वाम एकता समयको आवश्यकता भएको बताए । शनिबार जिल्लाको संयुक्त भेला आयोजना गरी आइतबारबाट बाम गठबन्धनले ३ वटा समुह बनाएर गाउँ केन्द्रित प्रचार अभियान सुरु गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले पनि शानिबारबाट चुनाव प्रचार अभियान सुरु गरेको छ । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सहित क्षेत्र नं १ अन्तर्गत रामेछाप नगरपालिकाको बाबियाखर्कबाट र क्षेत्र नं २ को मन्थली नगरपालिका वडा नम्बर ८ को चिसापानीबाट प्रचार अभियान सुरु गरेको छ ।पार्टीले क्षेत्र नं १ र २ मा २ वटा टोली बनाएर २ नगरपालिका र ६ वटा गाउँपालिकाका वडाहरुमा भेटघाट र चुनावी सभागर्ने नेपाली कांग्रेसले जनाएको छ ।
रामेछापमा बाम गठवन्धनको तर्फबाट प्रतिनिधि सभाको एक सिटको लागि नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ र प्रदेश सभा तर्फ क्षेत्र नं १ मा नेकपा एमालेका शान्तिप्रसाद पौडेल र २ मा एमालेकै कैलाश ढुंगेल चुनावी प्रतिस्पर्धामा छन् । यसै गरी नेपाली काँग्रेसबाट प्रतिनिधि सभाको लागि पूर्णबहादुर तामाङ र प्रदेश सभाको १ र २ बाट क्रमशः रत्न कार्की र जीतबहादुर मगर उम्मेदवार रहेको छन् ।
रामेछापमा वाम गठवन्धन र कांग्रेसको चुनावी अभियान
- प्रकाशित मिति: आइतबार, कार्तिक १२ २०७४
- तामाकोसी खबर