रामेछापमा बाम गठबन्धनको अगुवा कार्यकर्ता भेला, काँग्रेसको पनि प्रचार प्रसार तिव्र

  • प्रकाशित मिति: आइतबार, कार्तिक १२ २०७४
  • तामाकोसी खबर

रामेछाप । कार्तिक १२ गते,
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त अगुवा कार्यकर्ता भेला रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शनिबार सम्पन्न भएको छ । संयुक्त वाम गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र रामेछापका शिर्ष नेताहरुले बोलेका थिए ।
कार्यक्रममा वाम गठबन्धनका निर्वाचन परिचालन समितिका संयोजक एवं नेकपा एमालेका केन्द्रीय सदस्य देवशंकर पौडेलले वाम एकता अहिलेको आवश्यकता भएको बताए । अब यो एकता नटुट्ने पनि उनको भनाई छ ।
कार्यक्रममा वाम गठबन्धनका तर्फबाट रामेछाप प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य श्याम कुमार श्रेष्ठले देश विकासका लागि वाम एकता भएको बताए । जनताले चाहेको विकास वाम एकताबाटै हुने उनको भनाई छ । उनले अब रामेछापका कुनैपनि झुपडि अध्याँरोमा नहुने बताए ।जिल्लामा उज्यालो नेपाल कार्यक्रम परिसकेकाले यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याएर सफल बनाउने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा वाम गठबन्धनका तर्फबाट प्रदेश क का उम्मेदवार शान्ति प्रसाद पौडेल र प्रदेश ख का उम्मेदवार कैलाशप्रसाद ढुंगेल, नेकपा माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठ लगाएतका नेताहरुले बोलेका थिए । कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला भरका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैबिच मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा रामेछापमा उम्मेदवाारी दिएपछि नेपाली काग्रेसले शानिबारदेखि चुनाव प्रचार अािभयानलाई तिव्रता दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सहित क्षेत्र नं १ अन्तर्गत रामेछाप नगरपालिकाको बाबियाखर्कबाट र क्षेत्र नं २ मन्थली नगरपालिका वडा नम्बर ८ को चिसापानीबाट सुरु भएको नेपाली काँग्रेस रामेछापले जनाएको छ । पार्टिले क्षेत्र नं १ र २ मा चुनाव अगाडि सम्म २ नगरपालिका र ६ गाउँपालिकाका वडाहरुमा भेटघाट र चुनावी सभागर्ने पार्टि सभापति लबश्री न्यौपानेले बताए ।