रामेछाप । कार्तिक ७ गते,
आगामि मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लाबाट १ लाख ५२ हजार ५ सय ५९ जना मतदाताले भाग लिदै छन् । निर्वाचनमा जिल्लाबाट ७६ हजार १ सय ३४ महिला र ७६ हजार ४ सय २५ पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । स्थानीय तहको निर्वाचनमा भन्दा प्रदेशसभा र प्रतिनिधिसभा निर्वानका लागि रामेछापबाट १८ हजार बढि मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले जानकारी दिए ।
निर्वाचन अधिकारी उपाध्यायका अनुसार रामेछापको प्रदेश नम्बर १ बाट ३६ हजार ४ सय ६२ महिला र हजार ७ सय ५ पुरुष गरी ७३ हजार १ सय ६७ मतदाताले निर्वाचनमा भाग लिदै छन् । त्यसैगरी प्रदेश नम्बर २ मा ३९ हजार ६ सय ७२ महिला र ३९ हजार ७ सय २० पुरुष गरी ७९ हजार ३ सय ९२ मतदाताले मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा चुनावी माहोल
१ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेको रामेछाप जिल्लामा यतिबेला निर्वाचनको माहोल उत्षर्गमा पुगेको छ । २ प्रदेश र १ प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा वाम गठबन्धन र नेपाली काँग्रेसबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
रामेछापबाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट नेकपा माओवादी पोलिटब्युरो सदस्य र हालका विना विभागिए गृहराज्यमन्त्री समेत रहेका श्याम कुमार श्रेष्ठ चुनावी मैदानमा छन् भने उनका प्रतिस्पर्धिका रुपमा नेपालीका काँग्रेसका महाधिबेशन प्रतिनिधि पुर्ण बहादुर तामाङ कान्छाराम चुनावी मैदानमा छन् ।
गठबन्धनका नेता श्याम कुमार श्रेष्ठ निवर्तमान सांसद एवं शेर बहादुर देउवा नेत्तृत्वको सरकाबाट गृहराज्यमन्त्री पद खोसिएका नेता हुन् भने नेपाली काँग्रेसका उममेदवार कान्छाराम निर्माण व्यवसायि पृष्ठ भुमिबाट आएका नेता हुन् । यी दुवैले आफ्नो जितलाई प्रतिष्ठाको रुपमा लिएका छन् ।
प्रदेशसभा सदस्य निर्वाचपनि उस्तै
२ प्रदेशसभा सदस्य निर्वाचित हुने रामेछाप जिल्लामा नेकपा एमाले र माओवादी केन्द्र गठवन्धन र नेपाली काँग्रेस बिचनै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । वाम गठबन्धनका तर्फबाट प्रदेशको १ नम्बर क्षेत्रबाट एमाले रामेछापका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेल र नेपाली काँग्रेसका रत्न बहादुर कार्की चुनावी मैदानमा छन् ।
वाम गठबन्धनका उम्मेदवार पौडेल एमाले रामेछापको राजनितिमा सक्रिय वर्तमान जिल्ला अध्यक्ष हुन् भने काँग्रेस उम्मेदवार कार्की नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष हुदै राजनितिमा आएका हुन् ।
त्यसैगरी प्रदेशको २ नम्बर क्षेत्रमा वाम गठबन्धनका तर्फवाट कैलाश प्रसाद ढुंगेल र नेपाली काँग्रेसका जित बहादुर मगर चुनावी मैदानमा होमिएका छन् । गठबन्धनका नेता ढुंगेल एमालेका पुराना नेता तथा जिल्ला विकास समिति रामेछापका पुर्व सभापति एवं एमाले रामेछापका जिल्ला अध्यक्ष भैसकेका व्यक्ति हुन् । काँग्रेस उम्मेदवार मगर भने जिल्लाको राजनितिमा खासै नदेखिएका व्यक्ति हुन् ।
वाम गठबन्धन र काँग्रेस उम्मेदवार पृष्ठभुमी
आसन्न निर्वाचनमा रामेछाप जिल्लामा नेकपा माओवादी केन्द्र र एमालेबाट पूरानै नेताहरु चुनावी मैदानमा छन् । कांग्रेसले भने वामपन्थीसँग भिड्न नयाँ अनुहार र युवा उम्मेदवार खडा गरेको छ । वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्यामकुमार श्रेष्ठ यसअघि साविक क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसद हुन् । उनी शेरबहादुर देउवाले गृह राज्यमन्त्रीको जिम्मेवारी खोसेपछि विनाविभागीय राज्यमन्त्रीकै रुपमा चुनावमा गएका छन् ।
भागबण्डामा २ वटा प्रदेशसभा सदस्यको टिकट पाएको एमालले १ नम्बर बाट शान्तिप्रसाद पौडेललाई चुनाव लडाएको छ । उनी एमाले जिल्ला अध्यक्ष हुन् । पौडेल यसअघि नामाडी गाविस अध्यक्ष र जिविस सदस्य बनिसकेका नेता हुन् ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी पाएका एमाले नेता कैलाश ढुंगेल एमालेका पूराना नेता हुन् । ०४६ को परिवर्तनपछि दुई पटक जनमोर्चासँगको तालमेलमा एमालेलाई छाडेबाहेक हरेक चुनावमा उनी एमालेको तर्फबाट उम्मेदवारा बनेका छन् ।तर, उनले यसअघि संसद र संविधानसभा निर्वाचनमा पराजय बेहोर्नु परेको थियो । ढुंगेल ०५४ सालमा जिविस सभापति थिए भने अहिले दूग्ध विकास बोर्डको कार्यकारी अध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका छन् ।
उता कांग्रेसले युवालाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभाका लागि महाधिवेशन प्रतिनिधि कान्छाराम तामाङ उम्मेदवार बनेका छन् । उनी ०७० को संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार थिए । ‘क’ श्रेणीका ठेकेदार तामाङ खर्च गर्न नडराउने नेताका रुपमा परिचित छन् । कान्छारामले जिल्लामा विभिन्न स्थानमा एम्बुलेन्स वितरण गरी परिचित भएका छन् । जिल्लामा विरामी परेकाहरुलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ पुर्याएर पनि उनी मतदातामाझ परिचत छन् ।
कांग्रेसका उम्मेदवारहरू क्रमसः रत्न कार्की (प्रदेश क), कान्छाराम तामाङ (प्रतिनिधसभा) र जीतबहादुर मगर (प्रदेश ख) प्रदेशसभा सदस्यमा पनि कांग्रेसले दुवै जना युवा उम्मेदवार खडा गरेको छ । प्रदेशसभातर्फ क्षेत्र १ बाट नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष रत्न कार्की उम्मेदवार बनेका छन् ।
कांग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने, सचिव लेखबहादुर कार्कीलगायत दाबेदार रहेको उक्त क्षेत्रमा सबैलाई पाखा लगाउँदै टिकट लिएर उनी चुनावमा होमिएका छन् । यसैगरी, प्रदेश सभाको २ नम्बरबाट टिकट पाउने कांग्रेस नेता जीतबहादुर मगर पनि युवा नेता हुन् । उनी ध्रुव लामा, झनक श्रेष्ठलगायत नेताहरुलाई पन्छाउँदै चुनावी मैदानमा आएका छन् । दुवै नेता अहिलेसम्म कुनै लाभको पदमा पुगेका छैनन् ।
वाम गठबन्धनलाई बागिको झट्का
वामपन्थी गठबन्धनका साझा उम्मेवारविरुद्ध माओवादी केन्द्रका तीन नेताले बागी उम्मेदवारी दिएका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै पूर्वसभासद लक्ष्मी गुरुङ, माओवादी केन्ऽका पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक मैनकुमार मोक्तान र जिल्ला सचिवालय सदस्य हेमन्त पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
प्रतिनिधिसभामा माओवादी नेता तथा गृहराज्यमन्त्रीबाट बिनाविभागीय बनेका श्यामकुमार श्रेष्ठविरुद्ध पूर्वसभासद लक्ष्मी गुरुङले बागी उम्मेदवारी दर्ता गराएकी छन् । गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद थिइन् । गएको संविधानसभा निर्वाचनमा भने प्रत्यक्ष उम्मेदवार बनेर पराजित भएकी थिइन् ।
प्रतिनिधिसभा सदस्यका लागि माओवादीभित्र श्याम श्रेष्ठ र युवराज चौलागाईंबीच प्रतिस्पर्धा चलेको थियो । अन्तिम घडीमा श्रेष्ठले टिकट पाएपछि चौलागाईं पक्ष असन्तुष्ट बनेको छ । बागी उम्मेदवारी दर्ता गराउन चौलागाईंसहितको टोली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो । यसबाट पनि माओवादीभित्रको विवाद निकै पेचिलो रहेको प्रष्ट हुन्छ । यस्तै, प्रदेशसभातर्फ १ मा हेमन्त पौडेल ‘निकास’ बागी उम्मेदवार बनेका छन् । त्यहाँ एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल उम्मेदवार छन् । प्रदेशतर्फको २ नम्बरमा मैनकुमार मोक्तान बागी उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा एमाले नेता कैलाश ढुंगेल साझा वामपन्थी उम्मेदवार छन् ।
एमालेभित्रै पनि ढुंगेललाई बारम्बार टिकट दिइएकामा असन्तुष्टि देखिएको छ । बहुदलयताका हरेक चुनावमा कैलाशबाहेक अरुले उम्मेदवार बन्न नपाएको आक्रोश कार्यकर्तामा तीव्र देखिएको छ । प्रदेशसभामा यसपटक ढुंगेल समूहकै प्रभावशाली नेता रत्न गौतमले टिकट पाउने निर्णय भइसकेको अवस्थामा स्थायी कमिटीका केही नेताले कैलाशलाई नै अघि बढाउन अध्यक्ष केपी ओलीलाई दबाब दिए ।
यस्तै, केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकी र युवा नेता ज्ञानकुमार श्रेष्ठ पनि टिकटका आकांक्षी थिए । केही कार्यकर्ताले असन्तुष्टि जनाएकामा नेता ढुंगेलले पार्टीमा सबैलाई सन्तुष्ट बनाउन नसकिने बताउँदै पार्टी निर्णय सबैलाई मान्य हुने प्रतिक्रिया दिए । माओवादी नेताहरुले पनि तोकिएको समयमा मनोनयन फिर्ता लिने उनले आशा व्यक्त गरे ।