इन्सेकको रामेछापमा सञ्चालित कार्यक्रमको केन्द्रिय र क्षेत्रीय स्तरको अनुगमन

  • प्रकाशित मिति: सोमबार, असोज ३० २०७४
  • तामाकोसी खबर

रामेछाप । असोज ३० गते ,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा अनौपचारिक सेवा केन्द्र इन्सेकले कियोसको आर्थिक सहयोगमा सञ्चालन गरेको स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवरा निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रमको इन्सेक केन्द्रिय कार्यालय र क्षेत्रीय कार्यालयबाट सोमबार अनुगमन भएको छ ।
विगत १ बर्षदेखी सो वडामा शिक्षा , स्वास्थ्य र खाद्य अधिकारका बारेमा संचालन भएका कार्यक्रमको इन्सेकको केन्द्रीय कार्यालय र मध्यमाञ्चल कार्यालयले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा इन्सेक केन्द्रीय कार्यालयकी योजना व्यवस्थापक शुभेच्छा खड्का र मध्यमाञ्चल कार्यालयका प्रलेख अधिकृत राजु पासवान र इन्सेक रामेछापका जिल्ला प्रतिनिधि नवराज पथिकले सरोकारसँग पुरानागाउँमा संचालित कार्यक्रमका बारेमा छलफल गरेका थिए ।
सो मानवअधिकार निगरानी समुह र वडा स्तरका सरोकारवााल निकायसँग बैठक तथा छलफल भएको थियो । छलफलका क्रममा पुरानागाउँमा गठित मानवअधिकार निगरानी समुहका संयोजक विना तामाङ लगाएत सदस्यहरुले ईन्सेकले गरेको काम प्रभावकारी भएको बताएका थिए । उनीहरुले ईन्सेक मार्फत गठित मानवअधिकार निगरानी समुहले सेवा प्रदायक निकायले दिने सेवाका बारेमा निगरानी राख्दा ति निकायहरु जवाफदेही बन्दै गएको बताए । उनीहरुले निगरानी समुहले पुरानागाउँको शिक्षा, स्वास्थय र खाद्य अधिकारका बारेमा नागरिकहरुलाई सचेत बनाउन र सेवा प्रदायक निकायको सेवालाई प्रभावकारी बनाउन निगरानी गरिरहेको बताए ।

जसका कारण विद्यालयमा पढाइको गुणस्तर सुधार भएको, स्वास्थ्य संस्थामा नियमित औषधि आपुर्ति भएको, बन्द भएको सामुदायिक अध्ययन केन्द्र नियमित सञ्चालमा आएको र सरोकारवाला निकाय सचेत भएको उनीहरुले बताए । केन्द्रीय, क्षेत्रीय र जिल्ला स्तरीय अनुगमन टोलीले निगरानी समुहको कामका बारेमा वडा अध्यक्ष बुद्धि बहादुर मगर, सचिव प्रेम श्रेष्ठ र स्वास्थ्य चौकी पुरानागाउँका प्रतिनिधिसंग पनि छलफल गरेको थियो । छलफलका क्रममा वडा अध्यक्ष मगरले निगरानी समुहको कामले वडामा रहेका सेवा प्रदायक निकायलाई खबरदारी गर्ने सहयोग गरेको बताए बताए । उनले स्थानीय तहको समस्या समाधानको लागि इन्सेकको भूमिकाले सहयोग गरेको बताए । यसै गरी वडा सचिव प्रेम बहादुर श्रेष्ठले निगरानी समुहको भूमिका उल्लेख्य रहेको थियो । टोलीले सो स्थानमा रहेको स्वास्थ्य चौकिमा पनि भेटघाट गरेको थियो ।