भूकम्प गएको २८ महिना बितिसक्दा रामेछापमा जम्मा ५ हजार ३१ घर बने

  • प्रकाशित मिति: शुक्रबार, भाद्र २३ २०७४
  • तामाकोसी खबर

रामेछाप । भदौ २३ गते,
मविनाशकारी महाभूकम्प गएको २ बर्षमा रामेछापमा जम्म ५ हजार ३१ निजि आवास निर्माण सम्पन्न राष्ट्रिय पुननिर्माण जिल्ला समन्वय समिति रामेछापले जनाएको छ । शुक्रबार रामेछापको सदरमुका मन्थलीमा रामेछाप जिल्लामा भूकम्पपछिको पुननिर्माणको अवस्था बिषयक सरोकारवाला बिचको सार्वजनिक बहसमा बोल्दै राष्ट्रिय पुननिर्माण जिल्ला समन्वय समितिका प्रमुख ऋषिराज आचार्यले निर्माण भएका घरहरु मध्य १ हजार २ सय ९ घरहरु पास हुन नसकेको बताए । उनले निर्माण सम्पन्न भैसकेका ती घरहरु प्रक्रिया भन्दा बाहिर रहेकाले पास हुन नसकेको बताए ।
पास हुन नसकेको १ हजार २ सय ९ घरमध्य १ सय ७१ घरहरुले भने आवश्यक प्रक्रिया पुरा गरेकाले त्यसलाई दोस्रो किस्ताका लागि सिफारिस गरिएको प्रमुख आचार्यको भनाई छ । रामेछाप जिल्लामा ४३ हजार ६ सय ९ जना लाभग्रहिको खातामा पहिलो किस्ताको रकम गएकोमा अहिले ११ हजार ५ सय ६४ घरहरु निर्माणाधिन अवस्थामा रहेको उनले बताए । जिल्लामा ८ हजार ५ सय भन्दा बढि घरहरुले दोस्रो किस्ताका लागि निवेदन दिएको, ८ हजार घरहरु दोस्रो किस्ताका लागि सिफारिस भैसकेको र १ हजर ८ सय ८० लाभग्राहीहरुको खातामा दोस्रो किस्ता रकम जम्मा गर्न कोष तथा नियन्त्रण कार्यालयमा सिफारीस गरेको प्रमुख आचार्यले बताए ।
जिल्लामा हालसम्म ७ सय ४५ लाभग्राहीहरुले तेस्रो किस्ता बापतको रकम लिएका छन् । २०७२ साल बैशाख १२ , १३ र २९ गते गएको विनाशकारी भूकम्पले रामेछापमा झण्डै ५० हजार निजि आवासहरु भत्कीएका छन् । ति घरहरुको निर्माण कार्य जारी रहेको छ । नेपालको भूकम्प प्रभावित क्षेत्रहरुमा पुर्नलाभ तथा पुननिर्माणका लागि समुदायमा आधारित समावेशी विपद् पुर्व तयारी प्रवर्दन कार्यक्रम र सामुदायिक विकास समाज मन्थली रामेछापका आर्थिक सहयोगमा रामेछाप विपद् सरोकार सञ्जाल रामेछापले सार्वजनिक बहस गरेको हो ।
सो कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप लामिछाने र राष्ट्रिय पुननिर्माण जिल्ला समन्वय समितिका प्रमुख ऋषिराज आचार्य जवाफदेही वक्ता रहेका थिए । कार्यक्रमका सहभागिहरुले रामेछाप जिल्लामा पुननिर्माणको कामले गति लिन नसकेको गुनासो गरेका थिए ।