प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले गर्यो रक्तदान गर्नेहरुलाई सम्मान

  • प्रकाशित मिति: बिहिबार, भाद्र २२ २०७४
  • तामाकोसी खबर

रामेछाप । भदौ २२ गते,
प्राथमिक स्वास्थ्य केन्द्र मन्थली रामेछापले आकस्मिक २४ घण्टे प्रसुति शल्यक्रिया सेवा संचालन गर्नका लागि रक्तदान गर्नेहरुलाई सम्मान गरेको छ । मन्थली प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजु कुमार श्रेष्ठको अध्यक्षता र मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्कीको प्रमुख आतिथ्यतामा बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्की, नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा रामेछापका सभापति शिव कुमार कार्की, मन्थली नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवं मन्थली प्राथमिक स्वास्थ्य केन्द्रका संरक्षक नारायणदाश श्रेष्ठ , नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले बोलेका थिए ।
उनीहरुला रगत दान गरेर २४ घण्टे प्रसुति शल्यक्रिया सेवा संचालन गर्न सहयोग गर्ने रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक केशव फुयालले ठुलो संघर्षपछि संचालन गरिएको २४ घण्टे प्रसुति शल्यक्रिया २ बर्ष नपुग्दै बन्द हुनु दुःखद भएको बताए । उनले बन्द रहेको सेवा संचालनका लागि कर्मचारीको आह्वान गरिएको र आवश्यक काम पनि अगाडि बढिरहेकाले भदौ अन्तिमसम्म पुन संचालन हुने बताए । सेवा संचालनका लागि जिल्ला स्वास्थ्य कार्यालयमा ४० लाख रकम पनि आएको उनको भनाई छ ।
कार्यक्रममा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रकी मेडिकल अधिकृत डा. निलिजा शाक्यले २४ घण्टे प्रसुति शल्यक्रिया सेवा संचालनका लागि रगत दिएर सहयोग गर्नेलाई धन्यवाद दिइन् । उनले २०७२ साल बैशाख १७ गतेबाट संचालन भएको २४ घण्टे प्रसुति शल्यक्रिया सेवा बन्द हुनु दुःखद भएको बताइन् । यो सेवा संचालनका लागि आवश्यक प्रक्रिया अगाडि बढेकाले यो सेवा चाँडै संचालन हुने उनको भनाई छ ।