भदौ १५ गते ,पहिलो र दोस्रो चरणमा स्थानीय तह चुनाव भएका ६७ मध्ये ६४ जिल्लामा जिल्ला समन्वय समिति निर्वाचन सम्पन्न भएको छ । अब नयाँ थपिएका नवलपरासी र रुकुमसहित चितवन जिल्ला समन्वय समितिमात्रै गठन हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन सम्पन्न भएका ६४ मध्ये एमालेले ३९ जिल्लाको नेतृत्व लिन सफल भएको छ । अब जिसस गठन हुन बाँकी रहेका जिल्लामध्ये चितवनमा एमालेको एकल बहुमत छ ।
नेपाली कांग्रेसले ६३ मध्ये १७ वटा जिल्ला समन्वय समितिको नेतृत्व गर्न सफल भएको छ । अब जिसस गठन हुन बाँकी नवलपरासीको एक भागमा कांग्रेसको बहुमत छ । ५ नम्बर प्रदेशमा पर्ने नवलपरासीमा भने कांग्रेस एक्लैले जिसस बनाउन सक्दैन । त्यहाँ १४ मध्ये ७ मत कांग्रेसको छ ।
स्थानीय तहमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र जिल्ला समन्वय समितिमा पनि तेस्रो स्थानमै छ । माओवादी केन्द्रले ५ वटा जिल्लाको नेतृत्व लिन सफल भएको छ । चुनाव हुन बाँकी रुकुमका दुवै जिल्ला समन्वय समिति माओवादीले एकल बनाउनेछ ।
स्थानीय तहमा चौथो शक्तिका रुपमा रहेको संघीय समाजवादी फोरम जिल्ला समन्वय समितिमा भने पाँचौ स्थानमा पुगेको छ । फोरमले एउटा जिल्लाको नेतृत्व पाएको छ । राष्ट्रिय जनमोर्चाले दुई जिल्लाको प्रमुख जितेर चौथो शक्ति बनेको छ ।
स्थानीय तहमा प्रतिनिधित्व रहेको राप्रपा,नेपाल मजदूर किसान पार्टी, नयाँ शक्ति र फोरम लोकतान्त्रिकले जिल्ला समन्वय समितिको प्रमुख भने कतै पनि जित्न सकेनन् ।
– अनलाईन खबरबाट ।
