रामेछापमा विपद् पूर्वतयारीका बारेमा सरोकारवालाबिच सार्वजनिक बहस

  • प्रकाशित मिति: बिहिबार, भाद्र १ २०७४
  • तामाकोसी खबर

रामेछाप । भदौ १ गते,
रामेछापको सदरमुकाम मन्थलीमा विपद् पूर्वतयारीका बिषयमा सरोकारवाला निकायका बिच सार्वजनिक बहस विहिबार सम्पन्न भएको छ । रामेछाप विपद् सरोकार संजालको आयोजना तथा सामुदायिक विकास समाज मन्थलीको आर्थिक सहयोगमा कार्यक्रम संचालन गरिएको थियो । जिल्लाको विपद पूर्व तयारी तथा विपद व्यवस्थापनमा जिल्लामा उपलब्ध स्रोत साधन तथा सामग्रीहरुको बारेमा नागरिक र सरोकारवाला निकायसँग प्रत्यक्ष छलफल गराउने तथा आवश्यक सामग्रीको व्यवस्थापनका लागि खबरदारी गरी रामेछाप जिल्ला रहेको आपतकालीन कोषको प्रभावकारी कार्यान्वय गराउन दबाब दिने उद्देश्यले बहसको आयोजना गरिएको थियो ।कार्यक्रमका रामेछापका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैविप्रकोप उद्धार समिति रामेछापका अध्यक्ष सूर्यबहादुर खत्री, नेपाल रेडक्रस सोसाइटी रामेछापका अध्यक्ष शिव कुमार कार्की, गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा रामेछापका अध्यक्ष मिलन कुमार घिसिङ, रामेछाप उद्योग बाणिञ्य संघका अध्यक्ष श्याम थापा र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेलले आ–आफ्नो तर्फबाट विपद् पूर्वतयारी, राहत तथा उद्धारको लागि गरिएका कार्यहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रमका सहभागीहरुले प्रकोपपछि मात्र आँखा खुल्ने गरेको, विस्थापितहरुलाई पूनस्थापना गर्न ढिला गरेको, खोला आसपासमा बस्ती बढेको, मानव निर्मित संरचनाका कारण जोखिम बढ्दै गएको बताउँदै सचेतना अपनाउ सरोकारबालाहरुलाई अनुरोध गरका थिए । सहभागीहरुले राखेका जिज्ञासाहरुको उत्तर दिँदै रामेछापका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैविप्रकोप उद्धार समिति रामेछापका अध्यक्ष सूर्यबहादुर खत्रीले घट्न सक्ने विपत् प्रति सचेत रहनुका साथै आवश्यक राहत तथा उद्धारका सामग्रीहरु तयारी हालतमा रहेको बताए । उनले बाढी र पहिरोबाट विस्थापितहरुलाई स्थानान्तरणको लागि निर्णय भइसकको हुँदा बजेट आउन साथ ५ लाख वितरण गरिने बताए ।

रामेछाप विपद् सरोकार संजालका अध्यक्ष उमङ्ग मैनालीले सहजीकरण गरेको सार्वजनिक बहस कार्यक्रममा सामुदायिक विकास समाज मन्थलीका कार्यक्रम ब्यवस्थापक बलराम लामाले उद्देश्यका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको समापनका क्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष प्रेमबहादुर खड्काले बिपत् न्यूनीकरणका लागि आफू संधै लागि पर्ने बताए ।