एक वर्ष लाग्ने अनुमान गरिएको खिम्तिको छत्तिउने खोलाको सडक ७ दिनमै खुल्यो

  • प्रकाशित मिति: सोमबार, साउन २३ २०७४
  • तामाकोसी खबर

रामेछाप । साउन २३ गते,
काम पुरा गर्ने अठोट र दिनरातको कामप्रतिको लगावकै कारण रामेछापका २ वटा गाउँपालिकाका जनप्रतिनिधिहरुले एक वर्षमा पनि पुरा हुन नसक्ने अनुमान गरिएको सडकमा एक हप्तामा नै गाडी चलाएर देखाइदिएका छन् । गत असार ३१ गते मध्येराति ५ जना मानिसको ज्यान लिने गरी खिम्तिको छतिउने खोलामा आएको बाढीले बगाएको खिम्ति– फर्पू–नमाडी–वेताली–रस्नालु सडक सोमबारबाट सुचारु भएको छ । असार ३१ गते छतिउने र खिम्ति खोलामा आएको विनासकारी बाढीले छतिउने खोलाको पक्कि पुल र करिव २ किलोमिटर सडक बगाएको थियो । सो बाढीले स्थानीयको ५ वटा घर समेत बगाएको थियो । बाढीले बगउँदा ५ जना मानिसको समेत ज्यान गएको थियो ।

बाढीले पुल र सडक बगाएपछि रामेछाप जिल्लाका गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको सदरमुकाम मन्थलीसँगको सम्बन्ध विच्छेद भयो । यसैगरी सोलु र ओखलढुङ्गाका केही गाउँपालिकाबाट तराई तर्फ र काठमाडौँ आउजाउ गर्ने मानिसहरुले समेत सास्ति व्यहोर्नु पर्यो । उनीहरुले ६० किलोमिटर घुमेर दोलखाको जिरी हुँदै मन्थली आउनु पर्ने वाध्यता भएपछि कसरी बाटो खोल्न सकिन्छ भनेर दुई गाउँपालिकाका प्रमुहरुलाई राखेर काम थालिएको पूर्व सांसद एवं नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले बताए । काम थालेको एक हप्तामा नै बाटो खोलेर उदाहरणीय काम गर्न सफल भएको उनले बताए ।
सडक निर्माणको लागि सरोकारवाल सबै निकायमा अनुरोध गर्दा पनि चासो नदिएपछि आपूmहरुले काम थालेको र सफलता प्राप्त गरीछाडेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार बताउँछन् ।



सुरुमा आपूmलाई पनि आतेस लागेको भए पनि गाउँपालिकाका अध्यक्षहरुको रातदिनको लगाव र सबैको मेहनेतको कारण एक हप्तामा नै अस्थाई रुपमा यातायातका साधनहरु सञ्चालन गर्न सफल भएको जिल्ला प्राविधिक कार्यालय रामेछापका प्राविधिक हरिश्चन्द्र बराल बताउँछन् । हिउँद नलागि कामनै सूर गर्न सकिदैन भनि सडक डिभिजन कार्यालयले काम नथालेको यो सडक जनप्रतिनिधिहरुको लगातारको मेहनेतले खुलेको छ । एकहप्तामा सडक खुलेको देख्दा गरे जे पनि सम्भव छ भन्ने देखाएको छ ।