रामेछाप । साउन ६ गते,
नेपालका पहिलो जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवस रामेछापमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । विपि स्मृतिका अवसरमा नेपाली काँग्रेस रामेछापले सदरमुकाम मन्थलीमा रहेको विपिको शालिकमा माल्र्यापन गर्नुका साथै बृक्षारोपन पनि गरेको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एन.पि साउदको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि काँग्रेस रामेछापले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस परिसरमा बृक्षारोपन गरेको हो । बृक्षारोपन कार्यक्रममा नेपाली काँग्रेस रामेछापका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वा्चित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वा्चित संसद अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।
आफ्नो प्रधानमन्त्रीकालमा उनले गाउँको विकास, भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गरेका थिए ।
विपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्थाले देशभर विभिन्न कार्यक्रम गरेका छन् । विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्द्धक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ प्रकाशित छ । यस्तै सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित आत्मवृतान्त ‘जेल जर्नल’ प्रकाशित छ ।
३५ औं विपी स्मृति दिवसका अवसरमा रामेछाप काँग्रेसद्धारा मन्थली क्याम्पसमा बृक्षारोपन
- प्रकाशित मिति: शुक्रबार, साउन ६ २०७४
- तामाकोसी खबर