रामेछापमा खुल्ला दिशामुक्त घोषणा कार्यक्रमले तिव्रता पाउँदै, चर्पि बन्यो तर भूकम्पले भत्किएको घर बनेन

  • प्रकाशित मिति: मंगलबार, असार २० २०७४
  • तामाकोसी खबर

रामेछाप । असार २० गते,
रामेछाप जिल्लामा स्थानीयको बस्ने ठाउँको ठेगान नभए पनि खुल्ला दिशामुक्त गाउँ घोषणा गर्ने क्रम भने जारी छ । रामेछाप जिल्लामा खुल्ला दिशामुक्त क्षेत्र घोषणाको अभियान नै चलको छ ।
विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र स्थानीय स्तरको सरसफाई तथा स्वच्छता समितिको प्रयासमा शौचायल बनाउन सहयोग गर्दै खुल्ला दिशामुक्त गाउँ घोषणाका काम भई रहेका छन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापको तथ्याङ्क अनुसार साविकमा ५५ गाविस रहेको रामेछाप जिल्लाका २२ वटा गाविस खुल्ला दिशामुक्त भएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका इञ्जिनियर अविराम मिश्रका अनुसार रामेछापका साविकका हिलेदेवी, डडुवा, गौश्वारा, राकाथुम, वेथान, दोरम्बा, टोकरपुर, माकादुम, पुरानागाउँ, गेलु गाविस खुल्ला दिशामुक्त भएका छन् । त्यसैगरी साविकका चुचुरे, गुम्देल, कुभुकास्थली, ठोसे, बाम्ती, भुजि, गुप्तेश्वर, नामाडी, फर्पु, खिम्ति, गोठगाउँ, साँघुटार गाविस पनि खुल्ला दिशामुक्त भएका छन् । यसैगरी साविकका १० वटा गाविसलाई खुल्ला दिशमुक्त गाविस घोषणा गर्ने अन्तिम तयारी भइरहेको इञ्जिनियर मिश्रले बताए ।

जिल्लाका साविकका २३ वटा भन्दा बढी गाविस खुल्ला दिशामुक्त अर्थात् सबै घरमा शौचालय बन्दा पनि भूकम्पले क्षति पुगेका घरहरुको पूननिर्माणले भने गति लिन सकेको छैन । पूननिर्माण प्राधिकरणको जिल्ला समन्वय समिति रामेछापका तथ्याङ्क अनुसार रामेछाप जिल्लामा करिव ५० हजार घर बन्नु पर्नेमा हालसम्म १ हजार ८ सय घर मात्र बनेका छन् ।
समन्वय समितिका इञ्जिनियर विक्रम ज्ञावालीका अनुसार प्राधिरकणले उपलब्ध गराएको अनुदानको तेस्रो किस्ता दिन हालसम्म जम्मा १ सय ६८ घरमात्र भेरिफाई भएका छन् । अहिले करिव ८ हजार ४ सय घरहरु बन्ने क्रममा छन् ।  पहिलो किस्ता रकम लिएका ४० हजार भन्दा बढी घरधुरी मध्ये ५ हजार २ सय ८८ घरहरुको दोस्रो किस्ता रकम दिन बनेका घरको भेरिफाई भएको छ । जिल्लामा १ हजार २ सय ९ घरहरु प्राविधकको परामर्श विनानै बनेका छन् ।